‘विप्लव शान्तिपूर्ण राजनीतिमा आउने संकेत पाएको छु’

असार १०, भरतपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लव नेतृत्वको नेकपा ढिलो चाँडो (शान्तिपूर्ण) मूलधारको राजनीतिमा आउने दाबी गरेका छन् ।
मंगलबार भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
null
विप्लवलाई आफूले नजिकबाट चिनेको स्पष्ट पार्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘विप्लवलाई मैँले नजिकबाट चिनेको छु । घटनाक्रमले उहाँलाई पनि नयाँ सोचतिर जान प्रेरित गरेको छ । उहाँले बुझ्न थाल्नुभएको संकेत पाएको छु । ढिलो चाँडो आउनुहुन्छ ।’
नेतृत्वकर्ताको हिसाबले आफूप्रति विप्लवलाई कुनै घृणा नभएकोमा आफू विश्वस्त रहेको पनि उनले सुनाए ।
प्रचण्डले पार्टी एकीकृत अवस्थामा रहँदा एउटा बैठकमा विप्लवले भनेका कुरा स्मरण पनि गर्न भ्याए । घटना सुनाउँदै उनले भने, ‘एउटा बैठकमा विप्लवले भनेका थिए, कमरेड ! तपाईँले काठमाडौं त ल्याउनुभयो । तर मलाई नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लान्छु भनेर बम्बै लगेजस्तो अनुभूति भयो ।’
माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याएर आफूले कसैलाई नझुक्याएको दावी गर्दै उनले आफूले विप्लवलाई बम्बै नपुर्याएको बताए ।
भरतपुर महानगरका प्रमुखदेखि अरु जनप्रतिनिधिले भ्रष्टाचार नहुने महानगर बनाउन सक्ने उनले विश्वास व्यक्त गरे ।








