तेस्रो पटक पनि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक

असार ११, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रो पटक पनि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने संकेत पाइएपछि दुई पटकसम्म बस्न नसकेको सुदूरपश्चिम बैठक तेस्रो पटक पनि बस्दै नबसी स्थगित भएको हो ।
प्रदेशसभा सचिवालयले सूचना टाँसेर आउँदो असार १२ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो ।
null
असार १ गते प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट प्रस्तुत गर्दै बिनियोजन विधेयक टेबुल गरेपछि आह्वान गरिएको असार ५ गते बिहीबारको बैठकमा बजेटको विरोध गर्दै प्रतिपक्षी सांसदहरुले अवरोध गर्दै प्रदेश सभाको गेटमै रातो किताब जलाएका थिए।
सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै विरोध गरेका उनीहरुले विरोध गर्ने देखिएपछि असार ८ गतेको बैठक पनि बस्दै नबसी स्थगित गरिएको थियो ।
बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतको माग छ । तर, सत्तारुढ दल बजेटको बचाउमा छ ।
आर्थिक मामिला तथा अर्थमन्त्री झपटबहादुर बोहोरा बजेट सन्तुलित रहेकाले संशोधन नहुने बताउँछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।








