यी मन्त्रीहरु हुँदैछन् ‘किक आउट’

 

असार ८, काठमाडौं । सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । 

हालका मन्त्रीहरूले सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्र अनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । 

null

प्रधानमन्त्री ओलीकै निर्देशन अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्रालय र मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै आइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मूल्यांकनमा कम अङक पाएका मन्त्रीहरु पहिलो चरणमा हटाइने स्रोतको दाबी छ । 

हुन त वर्तमान मन्त्रीमण्डलमा राम्रो काम गरेको भनेर प्रशंसा कसैले पनि पाएका छैनन् । तर पनि काम गर्न नसकेर असक्षमहरुको अग्रपंक्तिमा रहेका चार मन्त्रीहरु केही दिनमै फेरिने स्रोतले बतायो । 

विगतमा मन्त्री बन्दा राम्रो काम गरेकाहरु पनि यसपटक आलोचनाको केन्द्रमा छन् । अरु मन्त्रीहरुको काममा समेत सुधार नभए पुनः अर्काे पटक समेत मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दियो । 

हालै काठमाडाैँ बाहिर जिल्ला भ्रमणमा जाँदा गाडी खोलामा फसेपछि सामाजिक सञ्जालमा छाएका मन्त्री रघुवीर महासेठ पनि ‘किक आउट’ हुन सक्नेहरुको सूचीमा छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका उनले कानुन मिचेर आफू निकटका व्यवसायीलाई ठेक्का दिएको आरोप छ । 

गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारहरुलाई कारवाही गर्न लाग्दा तीनै महासेठ संरक्षणमा बलियो गरि उभिएका थिए । यस्तै महासेठ तीनै मन्त्री हुन्, जसले सरकारले खारेज गरेको सिण्डिकेटको पक्षमा खुलेरै लागेका थिए । 

उनले सिण्डिकेट हटाउने सरकारको अभियानको पक्षमा डटेर लड्ने यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवाका नाममा दिनुसम्म दुःख दिएका थिए । 

किसानको कोटा खोसेर आफैँ चीन भ्रमणमा जाने कृषिमन्त्री चक्रपाणि खनालले कृषिमा सिन्को भाँच्ने काम नगरेको भन्दै आलोचना भइरहेको छ । किसानको अनुदानका लागि गएको बजेट कार्यकर्तालाई बाँडेको तथा अनियमितता गरेको उनीमाथि आरोप छ । 

केही राम्रा कार्यक्रम ल्याउन तथा पुराना कार्यक्रमलाई पनि राम्रो गर्न नसकेको प्रधानमन्त्री कार्यालयले उनको मुल्यांकन गरेको छ । 

‘न नयाँ राम्रा कार्यक्रम ल्याउन सके, न भएकाको पनि नियमन, नियन्त्रण, निष्पक्षता आदि कायम गर्न सके,’ प्रधानमन्त्री सचिवालयका एक सदस्य भन्छन्, ‘किसानका नाममा जाने अनुदान टाठाबाठाले कुम्ल्याउने, प्याक्ट जस्ता संस्थाले किसानको भाग नेता र उनका आफन्तलाई बाँडीरहँदा अन्य झैँ मन्त्री खनाल पनि रमिता हेरेर बसे । यसैले उहाँ हटाइने मन्त्रीको सूचीमा हुनुहुन्छ ।’ 

डिभी र पिआरधारी कर्मचारीविरुद्ध ऐन ल्याएर प्रशंसा कमाएका लालबाबु पण्डित पनि बर्खास्तको सुचीमा छन् । पण्डित स्वयंमले भने साइकल चढेर चन्दा उठाएर चुनाव लड्दा उनको श्रीमतीको खातामा ६० लाख देखिनुमा रहस्य रहेको बताइन्छ । विगतमा मन्त्री हुँदा ‘हाई–हाई’ कमाएका उनको यसपटक धेरै आलोचना त हुँदैन तर प्रशंसा ठप्प छ । मातृका यादव 

उद्योगमन्त्री मातृका यादव पनि असक्षम मन्त्रीका रुपमा बर्खास्त हुने लाइनमा छन् । अहिलेसम्मको अवधिमा यिनले देखाउन लायक एउटा पनि काम गरेका छैनन् । काम भन्दा दाममा बढी दौडिन थालेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि यिनीसँग असन्तुष्ट रहेको बताइन्छ । 

वर्तमान मन्त्रीमण्डलका विवादास्पद दुई–तीन मन्त्री भने विशेष कारणले जोगिने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडालाई पदमुक्त गर्न नेकपाभित्र चर्को दबाब बढेको छ । तर, खतिवडालाई प्रधानमन्त्री आफैँले ल्याएकाले उनी पदमुक्त हुने सम्भावना न्यून छ । 

यस्तै, खानेपानीमन्त्री मगर अध्यक्ष दाहालको बुहारी भएकाले उनलाई पनि हटाउन प्रधानमन्त्री ओलीलाई सकस छ । मेलम्चीमा इटालियन कम्पनीलाई अनाधिकृत रुपमा करोडौं भुक्तानी दिन खोज्ने मन्त्री मगर जोगिने चर्चा छ । मन्त्री मगरको अरु पनि देखाउन लायकका कुनै काम छैनन् । तर उनी प्रचण्डको बुहारी भएका कारण जोगिने चर्चा छ । 

बोलीमै अशिष्टता झल्किने र जनस्तरबाट समेत गालीगलौजको वर्षात् हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि जोगिने सूचीमा छन् । असक्षम र अलोकप्रिय हुँदाहुँदै प्रधानमन्त्री ओली निटक भएका कारण गोकुल सुरक्षित हुने देखिएका छन् । 

यस्तै मन्त्री रविन्द्र अधिकारीको निधनपछि रिक्त रहेको पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई दिने तयारी भइरहेको स्रोतको दावी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *