‘सरकारको काम देखेर कांग्रेस डरायो, मन्त्रिमण्डल पुनर्गठन हल्लामात्रै’

 

असार ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने, ‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनका लागि चलाइएको अफवाह हो ।’ 

null

उनले तत्काल मन्त्रिमण्डल पूनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ । 

‘मन्त्रिमण्डल पूनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न पनि सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैँले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पूनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन् । यसबारेको बजारिया हल्ला मात्रै हो । प्रचण्डले यसबारे बोल्नुभएको छैन’, मन्त्री महासेठले भने । 

सरकार आलोपालोको सहमतिबारे पनि उनले आफ्ना धारणा राखे । उनले भने, ‘हाम्रो पार्टीभित्र कुनै पनि अन्तर विरोध छैन । मैँले बुझेअनुसार केपी ओलीजी नै अबको पाँच वर्ष प्रधानमन्त्री हो । तर, यदि पार्टीले निर्णय गर्यो भने प्रधानमन्त्री, मन्त्री हामी सबै भोलि नै फर्किनुपर्ने हुन्छ । तर, अहिले जे बजारमा हल्ला चलिरहेको छ, यसमा कुनै सत्यता छैन । यो हल्लाको विश्वास नगर्नको लागि म आग्रह गर्दछु ।’ 

सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डराएको उनको आरोप छ । 

उनले विकास निर्माण, समृद्धि र राजनीतिक कुनै पनि मोर्चामा सरकार असफल नभएको बताएका हुन् । सरकारले केही पनि काम गर्न सकेन भनेर आलोचना भएकोप्रति गुनासो पोखे । 

उनले भने, ‘सरकारले जनताको चाहनाअनुरुप काम गर्न सकेन भनेर आलोचना गरिएको पनि सुनिएको छ, तर यथार्थमा त्यस्तो होइन । सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा लिएका छौं । विकास र समृद्धि भनेको कुरा एकै वर्षमा अर्थात् रातारात हुने कुरा होइन । अब बजेट कार्यान्वयनसँगै धमाधम विकासका काम अघि बढ्छन् ।’ 

सरकारले भौतिक पूर्वाधार तथा यातायात, सञ्चार, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा फड्को मारेको महासेठको दाबी छ । 

उनले सरकारले रेलमार्ग निर्माणको कामपनि तिव्र गतिमा अघि बढाइरहेको पनि सुनाए । उनका अनुसार पुर्व–पश्चिम रेलमार्गको डि.पि.आर.को काम धमाधम भैरहेको छ । देशैभरिका रेल मार्ग निर्माणको लागि धमाधम काम भैरहेको महासेठको भनाइ छ । आगामी दश वर्षभित्र २ हजार ८ सय किलोमिटर रेलमार्गले देशलाई जोड्ने पनि मन्त्री महासेठले घोषणा गरे । 

मन्त्री महासेठले आफूहरुले प्रमुख प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर अघि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘हामीले बजेट ल्याउँदापनि कांग्रेसको राय र सल्लाह लिएका थियौं ।’  

नले बजेट विकासमुखी रहेको पनि दाबी गरे । आगामी दश वर्षभित्र नेपाल मध्य विकसित राष्ट्रमा पुग्नेपनि उनले दाबी गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *