प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– आलोपालोको सहमति भएकै छैन (भिडियोसहित)

 

असार ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताका समयमा आलोपालोमा सहमति भएको चर्चा चलिरहँदा अर्को नयाँ खुलासा भएको छ । 

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टी एकताका समयमा आलोपालोको सहमती नभएको दाबी गरे । 

null

एक टिभी कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘अध्यक्षद्वय ओली र प्रचण्डबीच आलोपालोको सहमति भएकै छैन । यसबारे मलाई कुनै जानकारी छैन । प्रधानमन्त्री ओली नै पाँच वर्षसम्मका लागि प्रधानमन्त्री हुन् ।’ 

यदि आलोपालोमा सहमति भएको भए प्रधानमन्त्री ओलीले पद छोड्नुपर्ने उनको भनाइ छ । 

सरकार कछुवाको गतिमा अघि बढेको, जनअपेक्षा अनुसारको काम गर्न नसकेको भन्ने आलोचना भइरहँदा उनले प्रधानमन्त्री ओलीको सरकार रेलको गतिमा नै अगाडी बढेको तर पूर्ण स्पिड बढाउन बाँकी रहेको बताए । 

उनले भने, ‘आलोचना केही कोणबाट आएको छ । हामीले सुनेका छौँ । हामी त्यसबाट टाढा छैनौँ । केही जायज आलोचना पनि छन् । हामीले भनेर गर्न नसकेका केही काम छन् । तर यो वर्ष जुन हामीले पहिलो वर्ष बिताएका छौँ । पहिलो बजेट बिताएका छौँ । यस समयमा हामीले केही ऐतिहासिक काम पनि गरेका छौँ ।’ 

डा. राजन भट्टराईले नेपालको इतिहासमा पहिलो पटक ७ दशमलव १ प्रतिशत ग्रोथ रेट मेन्टेन गर्न यही वर्ष सफल भएको पनि स्पष्ट पारे । ‘केही पनि भएन भनिएको वर्ष आर्थिक वृद्धिदर इतिहासमै रेकर्ड कायम गर्ने ७.१ यही वर्ष भयो । देश समृद्धिको बाटोमा लान्छु भन्नुको एउटा मापक यही हो । यही वर्ष कृषिमा सबैभन्दा राम्रो उत्पादन गर्न हामी सफल भयौँ । यो मैँले बनाएर भनेको विषय होइन । तथ्यांकले यही भन्छ । यही वर्ष नेपालको इतिहासमा सबैभन्दा बढी पर्यटक नेपाल आएको वर्ष पनि हो’, उनले भने । 

यस्तै उनले यही वर्ष नेपालको औधोगिक क्षेत्रको उत्पादनको व्यापकता अर्थात् वृद्धिको तह बढी भएको पनि दाबी गर्दै यसै वर्ष नेपालको इतिहासमा सबैभन्दा धेरै कानुन निर्माण गरेको पनि जानकारी गराए । 

उनले अहिले नेपाल र भारतबीच जनस्तरबाटै सुमधुर सम्बन्ध रहेको पनि विश्वास दिलाए । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =