‘सीके राउतले पृथकतावादी समूह त्यागेका छैनन्, तत्काल विश्वास गर्नु हुँदैन’
जेठ २८, बैतडी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई तत्काल विश्वास गर्न नहुने बताएका छन् ।
बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सुदूरपश्चिम इञ्चार्ज समेत रहेका नेता रावलले सीके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुने बताएका हुन् ।
null
मधेस छुट्टै देश बनाउने अभियानमा लागेका सीके राउत सरकारसँग भएको ११ बुँदे सहमति पश्चात् खुला राजनीतिमा आइसकेका छन् । सरकारसँग सहमति भएसँगै उनले आफ्नो पार्टीको नाम समेत परिवर्तन गरी स्वतन्त्र मधेस गठबन्धनबाट जनमत पार्टी राखेका हुन् ।
सहमति पत्रमा देशको संविधान र भौगोलिक अखण्डता स्वीकार गर्ने, गठबन्धनका नेता कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्ने र जेलमा रहेकालाई तत्काल रिहा गर्ने, प्रहरी हिरासतमा मृत्यु भएका कार्यकर्ताका परिवारलाई उचित क्षतिपुर्तिका साथमा एक जनालाई रोजगारी दिने लगायतका विषय उल्लेख गरिएको थियो ।
यस्तै नेता भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा पनि जोड दिएका छन् ।
‘प्रेस राष्ट्रको चौथो अंग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, प्रेसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन’, उनले भने ।
सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको स्पष्ट पार्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गरे ।
निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उनले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताए ।
पार्टीले गलत ग¥यो भने खबरदारी गर्नुपर्छ भन्दै उनले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गरे ।