ओली सरकार समयमै नसच्चिए मुलुकमा ठूलो दुर्घटना हुनसक्छ: कांग्रेस नेता पौडेल

 

असार ६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको विरोधमा सडकमा उत्रिने चेतावनी दिए । 

सरकारले गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिल लगायतका विभिन्न विधेयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ । 

null

शुक्रबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरको साक्षात्कारमा बोल्दै उनले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको पनि गुनासो पोखे । उनले भने, ‘नेकपाका नेताहरुले चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए । उहाँहरुको घोषणापत्र नै महत्वकांक्षी थियो । वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर पनि छ । तर अहिलेसम्म केही पुरा भएनन् ।’ 

सरकार बनेको १६ महिना बितिसक्दा पनि अहिलेसम्म एउटा पनि राम्रो काम गर्न नसकेको पौडेलको दाबी छ । उनले भने, ‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होइन ।’ 

यो वर्षको बजेटमा पनि नयाँ कुरा केही नआएको उनको भनाइ छ । सरकारले गुठीलाई पनि आफ्नो प्रभावमा विस्तार गर्न चाहेको पौडेलको आरोप छ । 

वर्तमान सरकार सफल हो भनेर भन्न सक्ने र गर्न सक्ने कुनै तर्कको आधार नै नभएको पनि उनले जिकिर गरे । ओली सरकार पूर्ण रुपमा असफल भएको उनको दाबी गर्दै उनले सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको आरोप लगाए । 

पौडेलले नेकपाभित्र पनि सांसदहरुले विद्रोह गर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिमित स्वार्थ समूहको घेराभित्र रहेको उनको भनाइ छ । 

ओली सरकार समयमै नसच्चिने हो भने मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरा पनि पौडेलले औँल्याए । 

राष्ट्रपति र उपराष्ट्रपतिहरुले सुविधा विस्तार गर्नमा मात्रै ध्यान केन्द्रित गरेको पनि उनको आरोप लगाउँदै उनले भने, ‘पहिले पहिले राजा र अहिलेको राष्ट्रपतिको सवारी उस्तै छ ।’ 

आफ्नो पार्टी सडकमा नजाँदा जनता आफैँ सडकमा आउने गरेको पनि उनले स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *