प्रधानमन्त्री ओलीको भारत भ्रमणः मोदीसँग छलफल, नेपाल नीतिलाई निरन्तरता

 

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन जाँदा द्धिपक्षीय महत्वबारे छलफल हुने स्पष्ट पारेका छन् । 

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सल्लाहकार डा. भट्टराईले सो कुराको जानकारी गराएका हुन् । उनले भने, ‘भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहणमा सहभागी हुनको लागि निम्तो आएको छ । बिमस्टेक राष्ट्रका सबै सदस्य सहभागी हुने कार्यक्रम छ ।’ 

null

ओली बिहीबार दिउँसो भारत जाँदैछन् । बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर ओली भोलिपल्ट (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम रहेको भट्टराईले जानकारी गराए । 

उनले भारत भ्रमणमा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुनेपनि स्पष्ट पारे । उनले भने, ‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुनेछ ।’ 

नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा युग सुहाउँदो उदाहरणीय सम्बन्ध कायम गर्नुपर्ने उनको धारणा छ । 

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्ने पनि उनले विश्वास दिलाए । उनले भने, ‘हामी दुवै पक्षका सदस्यहरुले सर्वसम्मतीले प्रतिवेदन तयार पारेका हौं । भारतमा चुनाव भएकोले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो । अब छिट्टै बुझ्नुहुन्छ ।’ 

 

भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतमा प्रचण्ड बहुमतका साथ भाजपाको पूनरोदय भएकोले प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल नीतिलाई निरन्तरता नै दिने स्पष्ट पारे । उनले भने, ‘मोदीले छिमेक नीतिलाई अझै बलियो र मजबुद बनाएर अघि बढाउनेछन् ।’ 

भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको सुनाउँदै यसले दुवै देशलाई हित गरेको पनि सिंहको दाबी छ । उनले भने, ‘मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले नेपाललाई विशेष महत्व दिनुभएको छ । वास्तवमा भन्ने हो भने उहाँ प्रधानमन्त्री भएपछि भारतले नेपाललाई नयाँ रुपमा महत्व दिएको छ ।’ 

नेपालले भारतबाट लाभ लिनेगरि आफूलाई प्रस्तुत गर्नुपर्नेमा उनको जोड छ । उनले भने, ‘भारतसँगका सबैखाले अवसरहरु लिनका लागि हामीले सदुपयोग गर्नुपर्छ । हामी चुक्नुहुँदैन् ।’ 

उनले नेपाल–भारत परराष्ट्र नीतिमा अब आन्तरिक राजनीति खेलौना बन्न नहुने पनि सुझाव दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =