अपहरणमा परेका ८ वर्षीय बालकको हत्या

वीरगञ्ज, १५ जेठ । गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको पुष्टि गरेको हो । 

 

गत शुक्रबार बिहान साढे १० बजेतिर अपहरणमा परेका बालकको त्यसको २ घण्टापछि नै हत्या भएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले अपहरण र हत्यामा संलग्न तीन जनालाई गोली हानेर नियन्त्रणमा लिएको छ । विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । अपहरणकारीको कम्मरमुनि गोली लागेको छ । 

null

नियन्त्रणमा लिइएकामध्ये शर्मा भारतीय नागरिक हुन् । शम्भुको घरनजिकै डेरा गरी बस्दै आएका शर्मा अपहरणका योजनाकार रहेको प्रहरी दाबी छ । प्रहरीका अनुसार, अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए । 

तर बालकको हत्या गरिसकेका कारण पैसा दिएपछि मात्रै बालक फिर्ता दिने अडान उनीहरुले लिएका थिए । प्रदेश प्रहरीसँगै बारा र पर्साका प्रहरी टोलीको संयुक्त प्रयासमा हत्या, अपहरणमा संलग्न अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहान ९ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी प्रहरीले गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *