विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन – मन्त्री बाँस्कोटा

झापा, असार १४ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डोर्याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार अघि बढ्ने बताए ।

“विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन,” उनले भने – “प्रतिपक्षलाई पनि साथमा लिएर हामी सिङ्गै नेपालको विकासका लागि अघि बढ्छौं । विचारमा सत्तापक्ष र प्रतिपक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो तर, विकासमा होइन ।”

आफ्नै बजेट, आफ्नै नीति र आफ्नै घोषणाबाट सरकारले समृद्धि र विकासलाई मूर्तरुप दिन खोजेको र अब सरकारको कामको वास्तविक परीक्षण शुरु भएको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले भने – “यस अघि हामीसँग बजेट अर्कैको थियो । नीति अर्कैको थियो । कार्यक्रम अर्कैको थियो । त्यो खाली समन्वयात्मक थियो, अब त्यस्तो हुँदैन । हामीले तीन महिनाको अवधिमा सरकारले गरेको कामको समीक्षा गरिसकेका छौं ।”

एक फरक प्रसंगमा मन्त्री बाँस्कोटाले सरकार अब घरेलु मामिला सुदृढ गर्न लागिपर्ने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमण पछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएको बताउँदै सरकारले घरेलु मामिला सुदृढ पार्ने सिलसिलामा प्रशासनिक संरचना, विभिन्न निकायहरुको संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो, स्थानान्तरण जस्ता काम सक्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =