वैदेशिक रोजगारीमा गएका ३३५ नेपाली जेलमा, २० जना कोमामा छन्– मन्त्री ज्ञवाली

“
काठमाडौँ, असार १३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशमा बैदेशिक रोजगारमा गएका ३ सय ३५ जना नेपाली जेलमा र २० नेपाली कोमामा रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशका जेलमा रहेका नेपालीहरुबारे जानकारी दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा यसबारे गम्भीर कुरा उठाएको र आफू परराष्ट्रमन्त्री भएपछि पनि नेपाली राजदूतलाई बोलाएर यसबारे जानकारी लिएको उनले बताए ।
सबभन्दा बढी साउदी अरेवियामा २ सय २९ जना जेलमा छन् भने दुबईमा ६३, बैंककमा ३९, बहराइनमा ९, चीनमा ३ जना र २० जना कोमामा रहेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । जसमध्ये कतारमा ११ जना, दुबईमा २ जना, साउदीमा ५ जना छन्, उनले भने ।
उनले बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरुको शव ल्याउन क्रम जारी रहेको पनि जानकारी दिए।
२०६८ सालदेखि छिमेकी मुलुकको विमानस्थल प्रयोग गरी बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्ने प्रयास भइरहेको मन्त्री ज्ञवालीले बताउँदै भिजिट भिसामा जाने नेपालीहरु ठगीमा पर्ने गरेको बताएका छन्।
जोर्डनबाहेक अन्य कुनै खाडी मुलुकमा जाने निर्णय नभएको जानकारी दिए। तर, पनि अन्य मुलुकहरुमा महिला कामदार गइरहेको र दुःख पाइरहेको बताए । नेपाली चेलीलाई अन्य देश जानबाट रोक्ने प्रयास भइरहेको जनाए।
यसैगरी विमस्टेक क्षेत्रमा कनेकटीभेटी बढाउन काम भइरहेको बताए । चौथो शिखर सम्मेलनमा चारवटा सम्झौता हुने सम्भावना रहेको जानकारी दिँदै विम्सेटक क्षेत्रमा एडीबीको लगानीमा रोड कनेक्सनको कुरा भइरहेको बताए। नेपालमा त्यससम्बन्धी ६ वटा फ्रेम वर्क बनेको जानकारी पनि दिए ।
“








