तीन प्रतिष्ठानलाई एकै ठाँउमा गाभ्ने निर्णयमा पुर्नविचार गरिने : संस्कृतिमन्त्री अधिकारी

काठमाडौं, असार १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले कला सहित्य क्षेत्रका तीन वटा प्रतिष्ठानलाई एकै ठाँउमा गाभ्ने निर्णयमा पुर्नविचार गरिने बताउनुभएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वक्तव्यमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानलाई गाभ्ने घोषणा गर्नुभएको थियो । घोषणा गरेको भए पनि यी तीन वटा प्रतिष्ठानलाई गभिन्छ नै भन्ने निश्चित नभएको मन्त्री अधिकारीले बताउनुभयो ।

गीत संगीतका अध्ययताद्वय डा गोविन्द आचार्य र दुर्गा रायमाझीद्वारा लिखित दुई पुस्तकको विमोचन गर्दै उहाँले तीन प्रतिष्ठानलाई गाभ्ने की नगाभ्ने भन्ने बारेमा सुझाव दिन कार्यदल बनाउन लागेको जानकारी दिनुभयो । केही दिनमा बनाउने विज्ञहरुको कार्यदललाई प्रतिष्ठानसँगै प्रदेश तथा स्थानीय तहमा कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि के कस्ता संयन्त्र र क्रियाकलाप गर्न सकिन्छ भन्ने बारेमा सुझाव दिन लगाइने पनि उहाँले बताउनुभयो ।

मन्त्री अधिकारीले प्रतिष्ठानको गठन र नियुक्तिका लागि मापदण्ड बनाउन लागेको र त्यहीअनुसार आफूले पार्टीभन्दा माथि उठेर स्रष्टाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले जग्गासम्बन्धी विवादका कारण सरकारले प्रतिष्ठान गाभ्ने तयारी गरेको बताउँदै केही वर्ष अगाडि बनाएको संस्कृति नीतिअनुसार काम गर्न आग्रह पनि गर्नुभयो ।

मन्त्री अधिकारीले नेपाल म्युजिक सेन्टर ट्रष्टको योजनामा डा गोविन्द आचार्यले लेख्नु भएको ‘थारु जातिको लोकगीत तथा लोकसंगीत’ र डा गोविन्द आचार्य तथा दुर्गा रायमाझीले संयुक्त रुपमा लेख्नु भएको ‘मगर जातिको लोकगीत तथा लोकसंगीत’ पुस्तकको विमोचन गर्नुभएको थियो । पुस्तकमा थारु र मगर जातिका गीत संगीतको इतिहास, अभ्यास, शब्द, ब्याख्यालगायत समेटिएको लेखक रायमाझीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =