अनि पो असार (कविता)

अनि पो असार

पुन्य घिमिरे

झ्यार्इं झ्यार्इं बेठी घन्कियोस्,
गराहरु लतक्कै हिल्याइउन्,
वीउहरु लहलह हावामा तरेली खेलून्,
कँधमा होजुवा हातमा कोदाली होस्
अनि पो असार, नत्र के असार ।।

हिलो खुट्टाले चलाउँदै
गरा हल्लाइदिने बाउसे कला,
रोपाहारहरु छुपुछुपुु वीउहरु रोप्दै
हार हारमा धर्ति नाप्ने कला
अनि पो असार, नत्र के असार ।।

खेत जोती साइ लततत हिलो,
हलीदाइको धर्ति पल्टाउने कला,
रमरम हिलोमा सहासिक यात्रामा
तारेमालेको हिडाइ दौडाइ कला
अनि पो असार, नत्र के असार ।।

खेतको आलीमा बसेर खाजा
बोहोतामा अचारभाग बाँड्दै
आहा गौरवान्वित हजुरआमा,
आहा गौरवान्वित धर्तिहास् ।
अनि पो असार, नत्र के असार ।।

वीज पाइ धर्ति खुसी,
धर्ति पाइ वीउ खुसी,
लाठे खुसी रोपाहार खुसी,
छ्याम्म छ्याम्म वीउ फाल्ने,
व्याडे हाँस्दै अझ खुसी ।।
अनि पो असार, नत्र के असार ।।

झमझम झरीमा घुम भित्र
लहलह मंसिर देख्दाको पल,
कोदालीले हिलो पस्कदै,
चिलला आलीका कला ।।
अनि पो असार, नत्र के असार ।।

रनन असारे भाकामा जुहारी,
तरुना तन्नेरीका छेड्कन हनाइ
दबदबे मनमा काउकुती लगाउदै
लछार पछार होस्, मायाँलुहरुको
अनि पो असार, नत्र के असार ।।

थुइक्क वुद्धि ढलान घरभित्र
गमलामा कृत्रिम असार पन्ध्र,
बिना झरीमा छाता ढल्काउदै
टाइ सुटको रमिता सञ्जालमा
मनितो असार, यस्तो के असार ।।

२०७५,,३ ,११।मरुवाटार दोलखा।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =