एसईई परीक्षामा पनिकाको चरम लापरवाही

काठमाडौं, असार १० । परीक्षा नियन्त्रण कार्यालयले हिजो प्रकाशित एसईइको नतिजा चरम लापरबाही गरेको प्रमाणित भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको हो ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आज ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो ।

प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका छन् । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो । कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ ।

नयाँ स्थितिमा आज सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्म हेरफेर भएको ठानिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा सिम्बल नम्बर ०३०६९६९ भएको एक बिद्यार्थीको नतिजा हिजो हेर्दा जिपीए ३.५५ देखाएको थियो, तर आज नतिजा हेर्दा भने जिपीए घटेर ३.४५ देखाएको छ ।

त्यस्तै ०३९०९१९ भएका एक बिद्यार्थीको नतिजा हिजो हेर्दा सर्बप्रथम जिपीए ३.२५ देखायो, केहि समयपछि हेर्दा ३.३० देखायो र आज ३.२५ देखाइरहेको छ ।

धेरै बिद्यार्थीले आफ्नो नतिजा परिबर्तन भएको भन्दै विभिन्न नतिजा प्रदायकलाई गुनासो गरिरहेका छन् । यो क्रम हेर्दा अधिकांस बिद्यार्थीको नतिजा परिबर्तन भएको अनुमान गरिएको छ ।

प्रारम्भिक रुपमा यो संख्या ३ हजार हाराहारी भएको अनुमान गरिए पनि कति विद्यार्थीको नतिजामा फरक आएको हो भन्ने यकिन भईसकेको छैन । यो संख्या निकै ठूलो हुने अनुमान गरिएको परीक्षा नियन्त्रण कार्यालय श्रोतको भनाई छ ।
यसबारे बुझ्न खोज्दा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीसँग सम्पर्क हुन सकेन ।

शनिबार सार्वजनिक नतिजामा ईरर देखिएको भन्दै कार्यालयले आफ्नो वेभसाईटमा आईतबार नयाँ डाटा हालेको छ । उक्त तथ्याङ्क हिजोको भन्दा विल्कुल फरक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *