“धरानको “”द आर्ट अफ लिभिङ”” मा मनाइयो चौथो विश्व योग दिवस”

धरान, असार ७ । नेपालमा योग तथा आध्यात्मको माध्यमबाट स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले चौथो ‘विश्व योग दिवस’ मनाइएको छ ।

योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले विगत चार वर्षदेखि हरेक वर्ष जुन २१ तारिखमा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो ।

नेपाल योग एसोशिएसन तथा विभिन्न अध्यात्मीक संघसंस्थाहरुको आयोजनामा नेपालमा चौथो विश्व योग दिवस मनाइएकोे हो ।

यता सुनसरीको धरानमा द आर्ट अफ लिभिङ धरानले धार्मिक पर्यटकीय स्थल पिण्डेश्वर बाबा धामको प्राङ्गगणमा एक योग अभ्यास कार्यक्रमको आयोजना गरी योग दिवस मनाएको छ ।

सो कार्यक्रममा धरानका झुना फिटनेस लगायतका संस्थाहरुको समेत सहयागीता रहेको थियो । जसमा झुनाज फिटनेशका प्रमुख झुना राई तथा उनको फिटनेश टीम नै सहभागी भएका थिए ।

त्यस्तै आजै सुनसरीको धरानमा अध्यात्मीक संघ संस्थाहरु ओशो, पतन्जली योग पीठ, ओम शान्ती लगायतले समेत बिहान र्याली तथा योग अभ्यासहरु गरी विश्व योग दिवस मनाइएको छ ।

नेपालमा योग र आध्यात्मलाई पर्यटनको रूपमा विकास गरी देश तथा देशका हरेक धार्मिक तथा अध्यात्मीक स्थानहरुलाई चिनाउनका निम्ती यस्तो कार्यक्रमको आयोजना गरिएको द आर्ट अफ लिभिङ सुनसरीका डी डी सी सदस्य पावर्ती श्रेष्ठले जानकारी दिइन् ।

सयौँको सहभागीता रहेको सो विश्व योग दिवसमा द आर्ट अफ लिभिङका सुनसरी सदस्य सरस्वती श्रेष्ठ, भोलिन्टीयरहरु कमला लिम्बु, मिलि राई कार्की, पार्वती राई, हस्त बहादुर, सकुन्तला सुब्बा, शोबित यादव, गोपाल कामत, व्यापार व्यावसायिक क्षेत्रमा लागेका व्यत्तित्वहरु, पत्रकार, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच आजै विश्व सङ्गीत दिवस पनि धरानमा सांगितिक कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

धरान संगीत प्रतिष्ठानको आयोजनामा सो संगीत दिवस मनाईएको प्रतिष्ठानका एक सदस्य रमेश राईले जानकारी दिएका छन् ।

एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भएपनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।

पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret को सोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो ।

त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन ’विश्व सङ्गीत दिवस’ अर्थात्  World Music Day  मनाइँदै आइएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइने गरिन्छ ।

सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।

वहूजाती, भाषा, धर्म अनि संस्कृति भएको देश नेपालमा त झन् न्याउली रूदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा आउने मौलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यता मार्फत् प्रशस्तै सुन्न पाइन्छ ।

मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलक देखि टुङ्गनासम्म अनि बासुरी देखि विनायो सम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली मौलिकता थप्ने बाजाहरू हुन ।

कसैका लागि संगीत एउटा अभिव्यक्ति हुन सक्दछ भने कसैको लागि संगीत एउटा पेशा, कसैका लागि साथी हुन सक्दछ त कसैका लागि यो एउटा नशा ।

पूर्वीय घरानामा हुर्किएका सास्त्रिय सङ्गीत, फिरन्ते समूदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, ‍¥यापदेखि मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ ।

वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पूण्य या सतगतका कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।

भजन, किर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारणले त चर्चित छन् ।

राष्ट्रगीत देखि गाईनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरु मात्र पनि त हैनन् ।

बलेसीबाट चुहिने पानीका थोपाहरुका आवाज, कोईलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जन सम्म सङ्गीत बगीरहन्छ ।

कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले आफ्नो असर छाड्छ आङ सिरीङ बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले संगीत रोज्ने गर्दछन् ।

नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो । संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरुको सहभागीतामा सङ्गीत दिवस मनाउने गरिन्छ ।

सङ्गीत दिवसको अवसरमा नेपालका विभिन्न साङ्गीतिक संघ संस्थाहरुले प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीत सम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरुलाई सम्मान समेत गर्ने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसंग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रुपमा उपयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *