चीन पुगेर ओलीले भने–पश्चिम सेती चिनियाँ कम्पनीलाई नै दिन्छौं

“
काठमाडौँ, असार ६ । बजेट भाषणमा घोषणा गरे विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती चीनलाई नै दिने बताएका छन् ।
चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका ओलीले ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशयुक्त जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट नखोसिएको प्रस्ट्याएका छन् । उनले यो आयोजना चीनलाई दिने समेत घोषणा गरे ।
चीन पुगेकै दिन थ्रि–गोर्जेजको सहायक कम्पनी सिडब्लूई इन्भेष्टमेन्टसँग सम्झौता खारेज नभएको बताएका छन् । यो आयोजना चीनसँगै मिलेर बनाउने कुरामा प्रतिवद्ध रहेको बताएका छन् । चिनियाँ कम्पनी जलविद्यद्युत विकासमा अबल रहेको भन्दै ओलीले प्रसंशा गरेका छन् ।
यसअघि बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले स्वदेशी लगानीमै निर्माण गर्ने बताएका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भने समयमा काम नगरेको भन्दै आयोजना चिनियाँ कम्पनीबाट खोस्ने निर्णय गरेको थियो ।
चिनियाँ कम्पनीले क्षमता, विद्युत खरिद दर, विदेशी मुद्रा विनिमय दरको जोखिम, आयोजनाबाट प्राप्त हुने प्रतिफल लगायत विषयमा बिमती जनाएको छ ।
“








