अन्ततः यसरी अस्ताए वरिष्ठ डा. देवकोटा…………

काठमाडौँ, असार ५ । वरिष्ठ न्यूरो सर्जन, पूर्व स्वास्थ्यमन्त्री तथा दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ ।

उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको निम्ति आज (मंगलबार) बाँसबारीस्थित आफ्नै न्यूरो अस्पतालको प्राङ्गगणमा ८ बजेदेखि १ बजेसम्म राखिएको थियो । श्रद्धाञ्जलि दिन आफन्त तथा शुभचिन्तकको घुइँचो लागेको थियो ।

उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए । डा. देवकोटाको हिजो सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो ।

श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, स्थानीय विकास मन्त्री लालबाबु पण्डित, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, नेत्री हिसिला यमी, नेकपाका महासचिव विष्णु पौडेल र नेकपाका नेता वामदेव गौतम अस्पताल पुगेका थिए भने नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, राप्रपाका नेता पशुपतिशमशेर राणा, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, डा मोहनराज शर्मा, डा गोविन्द केसी र प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाप्रति श्रद्धान्जलि व्यक्त गरेका थिए ।

२५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। डा देवकोटाका श्रीमती र तीन छोरी छन् ।

उनको काजकिरीया ७ दिनमै सक्ने तयारी गरिएको पारिवारिक श्रोतले जनाएको छ । पित्तथैलीको क्यान्सर भएका डाक्टर देवकोटाले बेलायतको किंग्स अस्पतालमा उपचार गराएपनि रोग निको नहुने भएपछि न्युरो अस्पतालकै आईसीयूमा उपचार गराइरहेका थिए ।

पछिल्लो समय उहाँका दुवै मृगौलाले पनि काम गर्न छोडेका थिए । प्राण त्याग्नुअघि उनले आफु जन्मेहुर्केको गाउँ जाने इच्छा व्यक्त गरेपछि हेलिकोप्टरमा राखेर गोरखाको बोहोरागाउँ पुर्याइएको थियो ।

अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्किएका थिए । वीर अस्पतालमा मष्तिस्कको शल्यक्रिया उनले नै शुरु गरेका थिए ।

पछि उनले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गरे । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *