अस्पताल निर्माण योजना प्राथमिकतामा, देशभर १२ सय वटा अस्पतालको डिजाइनिङ हुँदैछ

“
वीरगञ्ज, असार ५ । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नयाँ स्वास्थ्य नीति योजनामा अस्पताल निर्माण गर्ने योजना प्राथमिकतामा रहेको बताएका छन् । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको निरीक्षण गर्न मंगलबार आएका उपप्रधानमन्त्री यादवले सरकारले साना ठूला गरेर १२ सय वटा अस्पतालको डिजाइन गरिरहेको बताएका हुन् ।
कार्यक्रममा उनले भने, ‘न्यु हेल्थ पोलिसी, न्यु हेल्थ प्लान आउँदैछ । त्यसैगरी नयाँ अस्पतालहरु बनाउने योजना छ, सोही क्रममा साना ठूला गरी देशभर १२ सय वटा अस्पतालको डिजाइनिङ हुँदैछ । ‘
साथै स्वास्थ्यमन्त्री यादवले नारायणी उपक्षेत्रीय अस्पताललाई प्रदेश २ कै नेतृत्वदायी अस्पताल बनाउने समेत उद्घोष गरे ।
उनले भने, ‘नेपालको सबभन्दा पुरानो अस्पतालमध्ये एउटा अस्पताल नारायणी अस्पताल हो । जुन बेला यो अस्पताल बनेको थियो । त्यो बेलामा यो यस क्षेत्रकै सबैभन्दा राम्रो अस्पताल, ठूलो अस्पताल यही थियो, तर अस्पतालको साइज त्यही रहृयो भने पपुलेसनको साइज बढ्दै बढ्दै गयो । आवश्यकताहरु बढ्दै गयो । यसलाई निर्माण गर्ने अलि आधुनिकीकरण गर्ने, स्तरोन्नती गर्ने कार्यमा कसैको ध्यान गएन ।’
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले अस्पतालमा नयाँ पूर्वाधार नआउन्जेल भएकै पूर्वाधारहरु उपयोग गरेर स्तरीय सेवा दिन चिकित्सकहरुलाई आग्रह गरे । ‘यहाँको आवश्यकता पूरा गर्नु छ, त्यो ठूलो चुनौतीको काम हो । लार्ज पपुलेसन, सीमित स्रोत, सीमित इक्युपमेन्ट, डाक्टर चिकित्सकको अभावमा यहाँहरुले जुन स्वास्थ्य सेवा दिइराख्नुभएको छ । त्यो प्रशंसनीय छ’ उनले भने ।
नारायाणी उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष विनोद गुप्ता र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकले अस्पतालको वर्तमान अवस्था, आगामी योजना र आवश्यकताका बारेमा उपप्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
“








