टेलिसेन्टरका कर्मचारि विनाकाम तलव खाँदै, सेवा प्रयोगविहिन बन्दै
“
सल्यान, साउन ६ । सल्यानमा जिल्ला हुलाक कार्यालयले संचालन गरेका टेलिसेन्टर बन्द हुने अवस्थामा पुगेका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई आधुनिक सञ्चार सुविधा दिन लाखौं रुपिया खर्च गरेर खरिद गरेका टेलिसेन्टरका उपकरणहरु प्रयोगमा नआई बिग्रदै गएका छन् ।
कतिपय स्थानका टेलिसेन्टर दक्ष प्राविधिक र उपकरण अभावमा प्रयोग विहिन बन्दै गएका छन् । ग्रामीण क्षेत्रमा सूचनाको पहुँच विस्तार गर्न, कम्प्युटर सिकाउन, फोटोकपी, लेमिनेसन, स्क्यानिङ, फ्याक्स गर्नका लागी बजार मूल्य भन्दा कम शुल्क लिएर सेवा उपलब्ध गराउन टेलिसेन्टरको स्थापना गरिए पनि मेसिन विग्रिनु, प्राविधिक समस्या, नियमित विद्युतको अभाव जस्ता कारणले कतीपय टेलिसेन्टर प्रयोगविहिन अवस्थामा जस्तै रहेको जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ५ स्थानमा टेलिसेन्टर छन् ।
थारमारे, मालनेटा, जैतपानी, लुहाम र कपुरकोट गरि ५ स्थानमा टेलिसेन्टर स्थापना गरिएको भएपनि धेरैजसो प्रयोगमा नआएको पाइएको छ । पछिल्लो समय फोटोकपि, फ्याक्स, लेमिनेशन, इमेल इन्टरनेट जस्ता सेवा निजि क्षेत्रबाटै दिन थालेकाले पनि सेवाग्राहिहरु टेलिसेन्टर सम्म नधाउने गरेको हुलाक अधिकृत भण्डारीले बताउनुभयो ।
“