सुरक्षा सम्बन्धमा अनावश्यक टिकाटिप्पणी भयो – प्रम ओली

“
काठमाडौं,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सैनिकहरू नेपालमा आएको सम्बन्धमा अनावश्यक टिकाटिप्पणी भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा आसन्न चीन भ्रमणबारे जानकारी दिने क्रममा ओलीले सुरक्षाको विषयमा प्रसंग निकाल्दै उनले यस्तो बताएका हुन् ।
‘केही न केही नकारात्मक टिप्पणीहरू सुनिने रहेछ, हामी पनि भारत भ्रमणमा जाँदा युनिफर्म (पोसाक) सहित सैनिकहरू लगेका थियौँ ‘, प्रधानमन्त्री ओलीले भने, ‘तर त्यहाँ यस्तो टिकाटिप्पणी सुनिएन। आजको दुनियाँमा सुरक्षा भन्ने कुरा समय, व्यक्ति र परिस्थितिमा भर पर्छ।’
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि पोखरा लगायत पर्यटकीय क्षेत्रका होटल भरिभराउ रहेको प्रधानमन्त्रीको दावी छ। ‘अहिले अफसिजनमा पनि पोखराका होटलहरूमा कोठा पाउन मुस्किल छ। जोमसोमतिर त्यस्तै छ’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले मित्र राष्ट्रका प्रमुखको सुरक्षाका लागि सुरक्षाकर्मी आउनु सामान्य कुरा भएको बताएका छन्।
“








