सवारी दुर्घटना न्यू्निकरण कार्यक्रम सम्पन्न

“
कैलाली, असार ०४ । सुदुरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको आयोजनामा आज कैलालीको लम्कीमा एक दिवसिय ट्राफिक प्रहरी सम्मेलन तथा सडक सभ्यता अभिवृद्धिका साथै सवारी दुर्घटना न्यू्निकरण कार्यक्रम सम्पन्न भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ लम्की जेसिजको सभा हलमा सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले कार्यक्रमको उदघाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथी शाहले दुर्घटना भन्ने कुरा बाजा बजाएर अथवा क्यालेन्डर बनाएर नआउने भएकाले सबैले सजग र सचेत हुनुपर्ने बताए ।
विस्तारै यात्रा गरे गन्तव्यमा पुग्ने र हतार गरे जोखीममा पर्ने भएकाले यस सम्बन्धी सम्पुर्णलाई सचेतना गनुपर्नेमा उनको जोड थियो।
प्रहरी जनताको मालिक नभई जनताको सेवक भएको बताउँदै उनले जनताको जिउधनको सुरक्षा गर्नु प्रहरीको कर्तव्य रहेको बताए ।
बाटोमा विभिन्न किसिमका मानिस तथा सवारी साधन आवतजावत गर्ने भएकाले हामीले सडकमा हिँड्दा सचेत भई हिडनुपर्ने समेत बताए ।
प्रदेस सरकार अहिले धेरै कुरामा अनिविज्ञ भएको र जनताका अधिकांश समस्या समाधान गर्न नसकेको बताउँदै अब पहिलाको जस्तो सरकार नभई स्थीर सरकार,२ तिहाई बहुमतको सरकार भएकाले अब छिटै जनताका समस्या समधान हुने विश्वास दिलाए।
कार्यक्रममा विशिष्ट अतिथी रहेका प्रदेश नम्बर ७ का भौतिक योजना तथा पुर्वधार मन्त्री पठान सिंह बोहोराले पछिल्लो समयमा सडक दुर्घटनाबाट धेरै मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको बताउदै यस विषयमा सबैले आ आफनो ठाउँमा जिम्मेवार हुनुपर्ने बताए । दुर्घटना कसरी हुन्छ , न्युनिकरण गर्न के गर्ने भन्ने विषयमा छलफल हुनुपर्नेमा उनले जोड दिए ।
मन्त्री बोहोराले प्रदेश सरकारले पनि यस सम्बन्धी अन्तक्रिया तथा जनचेतना मुलक कार्यक्रम सन्चालन गर्ने बताउदै सात नम्बर प्रदेशलाई अनुशासित एवं नमुना प्रदेश बनाउन सम्पुर्ण सरोकारवालाले सहयोग गनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै लम्की चुहा नगरपालिकाका मेयर महादेब बजगाईले सचेतना मुलक कार्यक्रम लम्कीमा गरेकोमा धन्यवाद दिदै यस क्षेत्रमा पछिल्लो समयमा लागुपदार्थ दुव्र्यसनमा धेरै व्यक्ति फसेकाले यसलाई कडाई गर्न भारतिय सिमा नाकामा सुरक्षा व्यवस्था कडाई गनुपर्ने र ट्राफिक जनचेतना सम्बन्धीको पाठयक्रम नै राखेर विद्यालयमा पढाई हुनुपर्ने बताए ।
कार्यक्रमका सभापति समेत रहेका सात नम्बर प्रदेश प्रहरी प्रमुख शरद चन्दले विभिन्न आर्थिक वर्षमा दुर्घटना हुनेको संख्या प्रस्तुत गर्दै यस प्रदेशमा यस आर्थिक वर्षमा सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या १ सय ५५ जना भएको बताउँदै कुनै पनि चालकले यात्रा गर्दा सुरक्षित यात्रा गर्नुपर्ने बताए ।
कार्यक्रममा लम्की चुहा नगरपालिका अन्तरगतका सामुदायिक तथा निजि विद्यालयका विद्यार्थी, स्थानिय सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु गरि करिब ३ सय ५० जनाको उपस्थिीतीमा सोमबार विहान लम्की जेसीजसभा हल देखी लम्की बसपार्क सम्म प्रभात फेरीको आयोजना समेत गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिमका विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
“








