यातायात मन्त्री महासेठले भने- ‘निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त मलाई खबर गर्नुस्’

“
काठमाडौं,असार ३ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीलाई अब कुनै किसिमको धरपकड नगरिने बताएका छन् ।
काम नगर्ने निर्माण व्यवसायीलाई पक्राउ गरेर जेल हाल्ने गृहमन्त्री राम बहादुर थापाको अभिव्यक्ति आईरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कसैले धरपकड गरे आफुलाई भन्न आग्रह गरेका छन् ।
आईतबार निर्माण व्यवसाय विकास परिषद्को बैठकमा बोल्दै मन्त्री महासेठले भने, ‘अब विगतमा जस्तो व्यवहार हुँदैन्, कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त मलाई खबर गर्नुस् ।’
गृहमन्त्री राम बहादुर थापाले ठेकेदारहरुले समयमै निर्माण कार्य नगरेमा एक्सन लिने भनिरहेका बेला मन्त्री महासेठले यस्तो भनिरहँदा सरकारमा रहेका मन्त्रीहरुबिच नै समन्वयको अभाव देखिएको छ ।
सरकारले देशभरबाट निर्माण व्यवसायीलाई पक्राउ गर्न थालेपछि त्यसको विरोध गर्दै आएको नेपाल निर्माण व्यवसायी महासङ्घसँगको छलफलका क्रममा मन्त्री महासेठले व्यवसायीलाई धरपकड नहुने बताएका हुन् ।
मन्त्री महासेठले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नगरिने जानकारी दिएका छन् ।
निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नभएको भन्दै उनले व्यवसायीलाई धरपकड नगरिने जानकारी दिए । “कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएका छन्, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन” मन्त्री महासेठले भने ।
कहीँ कतै निर्माण कार्यमा कमजोरी देखिए त्यसमा व्यवसायी मात्र नभएर प्राविधिक पनि दोषी ठहरिने मन्त्री महासेठको भनाइ थियो ।
निर्माण कार्यलाई छिटो छरितो बनाउन साइट क्लियरेन्स नगरी टेण्डर आह्वान नगर्न आफूले सडक विभागलाई निर्देशन दिइसकेको मन्त्री महासेठले बताएका छन् । उनले आयोजना डिजाइनको काम पनि सरकार आफैंले गर्ने बताएका छन् ।
निर्माण व्यवसायी र नेपाल सरकारको सम्बन्ध नङ–मासुको जस्तै हुनुपर्ने भन्दै मन्त्री महासेठले मुलुक निर्माणका लागि सबैले इमानदारी पूर्वक काम गर्नुपर्ने बताएका छन् ।
जानी जानी गलत काम गर्नेलाई भने नछाडिने उनको भनाई छ । “गलत काम गर्ने व्यवसायी हुन् या प्राविधिक, कसैलाई छाडिँदैन” मन्त्री महासेठले भने ।
“








