विश्वकप २०१८ः हारबाट उठेको ब्राजिललाई स्वीट्जरल्याण्डको चुनौती

काठमाडौं असार ३ । यसपटक ब्राजिल विश्वकपका लागि रुसमा चार वर्षअघिको नमिठो बिर्साउने र आफ्नो फुटबल ‘ग्लोरी’ फर्काउने लक्ष्यसहित पुगेको छ । सन् २०१४ मा घरेलु मैदानमै भएको विश्वकपको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग इतिहासकै खराब हार बेहोर्यो, ७–१ को ।

त्यसरी प्रतियोगिता टुंग्याएको ब्राजिल अहिले अधिकांश युवा खेलाडीसहित विश्व विजेता बन्ने बलियो सम्भावनासहित रुस पुगेको छ । चार वर्षअघि नेइमार घाइते भएर ब्राजिलले नराम्रो अनुभव लिएको थियो । तर अहिले नेइमार चोट मुक्त भएर विश्वकपका लागि तयार भएका छन् ।

प्रशिक्षक टिटेले जिम्मेवारी सम्हाल्न आएदेखि ब्राजिलको टिममा आश लाग्दो परिवर्तन देखिएको छ । यसले ब्राजिलका फ्यानलाई पुरानो ब्राजिल देख्न सकिने भयो भन्ने आश जागेको छ ।

टिटे सन् २०१६ को जुनमा ब्राजिलको जिम्मेवारी लिन आएका छन् । उनले जिम्मेवारी सुरु गर्ने बेला दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट तालिकामा ब्राजिल छैटौँ स्थानमा थियो ।

तर त्यसपछिका लगातार ९ खेलमा जित निकाल्दै ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम बन्यो । उनले ब्राजिललाई यो पटक विश्वकपको उपाधिसम्म लैजाने आश गरिएको छ । सन् २०१७ को माचै २८ मा पाराग्वेलाई ३–० ले हराएपछि ब्राजिलले विश्वकपमा स्थान पक्का गरेको थियो ।

चार वर्षअघि र अहिले

पेलेको देशलाई फुटबलको देश भन्दा पनि फरक नर्पला । तर चार वर्षअघि घरेलु मैदानमै भएको विश्वकप ब्राजिलको इतिहासमा बिर्सन लायक बन्यो । स्टार खेलाडी क्वाटर फाइनलमा चोटग्रस्त भए । सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले पराजित भयो । यो हारले ब्राजिलको टिमसँग उसका विश्वभरका फ्यानलाई पनि गहिरो अँध्यारोमा धकेल्यो ।

चार वर्षपछि अहिले अवस्था फेरिए जस्तो छ । ब्राजिलको टिम रुस विश्वकपमा आफ्नो पुरानो इतिहास फेरि लेख्ने दृढ लक्ष्यसहित अहिले अभ्यासमा छ । कप्तान थिएगो सिल्भाले भनेका छन् कि आफूहरुले उपाधिका लागि वाचा नगर्ने तर हरेक खेल उत्कृष्ट बनाउने वाचा भने गर्छौँ । यसको अर्थ हरेक खेल उत्कृष्ट भएपछि जित सायदै पर हुँदैन होला । अहिले ब्राजिल फिफा बरियतामा दोस्रो नम्बरमा छ ।

अहिले ब्राजिलियन टिम अभ्यासका लागि लण्डनमा छ । चार वर्षअघि जुन खेलाडी चोटग्रस्त भएका कारण टिम समस्यामा परेको थियो त्यहि खेलाडी अहिले चोटबाट मुक्त भएर मैदान फर्किसकेका छन् र बलियो बनेर आएको छनक पनि दिएका छन् ।

ब्राजिल पाँच पटकको विश्व विजेता हो जसले अहिलेसम्म २० पटक विश्वकप खेलेको छ । सन् १९३० मा पहिलो पटक विश्वकपमा सहभागी भएर ब्राजिलले विश्वकपको यात्रा सुरु गरेको थियो । पछिल्लो पटक उसले सन् २०१४ मा विश्वकपको आयोजना पनि गर्यो । सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि उपाधि उचाल्यो ।

उसले सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । १६ वर्षदेखिको उपाधि भोक यो पटक पूरा हुने ब्राजिलियन सपना छ । २० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । त्यसमा पाँचपटक त विजेता नै बनेको छ ।

स्टार खेलाडी

ब्राजिलको टिममा सबै स्टार खेलाडी छन् । त्यो भन्दा पनि ठूलो कुरा ब्राजिलको टिममा विश्वका सबैभन्दा महँगा खेलाडी नेइमार छन् । बार्सिलोनाबाट अघिल्लो सिजन विश्वकीर्तिमानी मूल्यमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन, पिएसजी गएका नेइमार अहिले तयार भएका छन् ।

उनको उपस्थिति र उनको अनुपस्थितिको असर के हुन्छ भन्ने अघिल्लो विश्वकपको सेमिफाइनलमा देखाएको छ । नेइमारको उपस्थितिले यो विश्वकपमा ब्राजिलियन टिमको आत्मबल उच्च छ । यस्तै टिममा थिएगो सिल्भा, गाब्रिएल जिसस, फिलिप कोन्टिन्हो, मार्सेलोसहितका स्टार खेलाडी छन् । यी सबै खेलाडीको उत्कृष्ट प्रदर्शनले रुस विश्वकपलाई रोमाञ्चक बनाउने पक्का छ ।

कुरा स्वीट्जरल्याण्डको

स्वीट्जरल्याण्ड युरोपको बलियो टिम हो, जसले दक्षिण अमेरिकाको ब्राजिललाई दबाबमा पार्न सक्छ । तर स्वीट्जरल्याण्ड आफै पनि ब्राजिल बलियो प्रतिस्पर्धी रहेको स्वीकार गर्छ । विश्व बरियतामा छैटौँ नम्बरमा रहेको स्वीट्जरल्याण्ड र दोस्रो स्थानमा रहेको ब्राजिलको खेल प्रतिस्पर्धात्मक हुने पक्का छ ।

स्वीट्जरल्याण्डले प्ले अफ मार्फत विश्वकपमा स्थान बनाएको हो । स्वीट्जरल्याण्डले पछिल्ला २२ खेलमा एक खेलमा मात्रै हार बेहोरेकाले पनि ब्राजिलका लागि चुनौती ठूलै छ ।

हेड–टू–हेड र विश्वकप

यी दुई टोलीबिच अहिलेसम्म ८ पटक भेट भएको छ । यसमा ब्राजिलले मात्रै तीन खेलमा मात्रै जित निकालेको छ । तीन खेलमा बराबरी भएको छ भने दुई खेलमा ब्राजिल हारेको छ । यस क्रममा ब्राजिलले १० गोल गरेको छ भने ८ गोल खाएको छ । यी दुई टोली विश्वकपमा एक पटक मात्रै भेट भएका छन् । सन् १९५० मा भएको भेटमा २–२ को बराबरी भएको थियो ।

ब्राजिल विश्वकपमा समूह चरणका पछिल्ला १२ खेलमा अपराजित छ । उ पछिल्लो पटक सन् १९९८ समूह चरणको खेलमा नर्वेसँग पराजित भएको थियो । उ सन् १९८२ यताका हरेक विश्वकपमा समूह विजेता बनेको छ । ब्राजिलले विश्वकपमा आफ्ना पछिल्ला १८ उद्घाटन खेलमा १६ मा जित निकालेको छ ।

स्वीट्जरल्याण्ड पछिल्ला चार सहभागितामा आफ्नो पहिलो खेलमा अपराजित छ । लगातार चौथो पटक विश्वकप खेल्न लागेको स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप यात्रा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *