“पानीजहाजको सपना देखाउने सरकारले कर्णालीबासीलाई “”सौतेनी”” व्यवहार गर्यो– काँग्रेस”

काठमाडौँ, असार १ । नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले सरकारले कर्णालीबासीलाई सौतेनी व्यवहार गरेको आरोप लगाएकी छिन् ।

शुक्रबार राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद रंगमती शाहीले केन्द्र सरकारले बजेटमा कर्णालीलाई अर्कै राज्य जस्तो ठानेर कर्णालीमाथि सौतेनी व्यवहार देखाएको आरोप लगाएकी हुन् ।

प्रधानमन्त्री ओलीले रारा तालको डिलमा बसेर कर्णाली समृद्धि बनाउने घोषणा गरेतापनि नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई पुरै अन्याय गरेको बताउँदै उनले भनिन्, ‘पानीजहाज चढेर हिन्दमहासागर जाने सपना देखाउने सरकारले हवाईजहाज चढेर काठमाडौं आउने कर्णालीका जनताको आवश्यकता बुझिदिए ठूलो उपलब्धि हुने थियो ।’

‘कर्णाली रारा पर्यटन वर्ष २०७५ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णालीलाई यस्तो गर्छु र उस्तो गर्छु भनेर आश्वासन दिए पनि बजेटमा हेर्दा कर्णाली भन्ने ठाउँपनि नेपालमा पर्छर भनेजस्तो देखियो । यो अत्यन्तै दुःखद कुरा हो,’ उनले भनिन्, ‘प्रधानमन्त्री ओलीको बोली र व्यवहार ठीक उल्टो हुँदो रहेछ । बजेटले त्यहि देखायो ।’

शाहीले बजेट निर्माणको क्रममा कर्मचारी हावी भएको भन्दै सिंहदरबारमा बस्ने कर्मचारीले कर्णालीको समस्या र आवश्यकता वोध नगरेको जिकिर समेत गरिन् ।

उनले भनिन्, ‘कर्णालीको व्यथा सिंहदरबारलाई के थाहा ? काठमाडौं १ हजारमा आउने सिमेन्टलाई कर्णालीको हुम्लामा १० हजार पर्छ । काठमाडौंमा उपभोग्य बस्तुको २ रुपैयाँ बढ्यो भने कर्णालीमा २ सय रुपैयाँ बढ्छ । त्यसैले बजेट निर्माणमा संलग्न कर्मचारीले कर्णालीलाई न्याय गर्न सक्दैनन् । कर्णालीको जनताले भोगेको पीडा र व्यथा बुझ्दैनन् । बजेटमा कर्णालीमाथि सरकारले सामाजिक न्याय होइन अन्याय गरेको छ ।’

उनले कर्णालीको हुम्ला र डोल्पा जिल्ला अहिले पनि सडक संजालमा नजोडिएकाले त्यहाँबाट आवतजावत गर्ने एकमात्र माध्यम हवाइजहाज भएको भन्दै त्यसमा पनि सरकारले सय दिनको उपहारस्वरूप ५४ प्रतिशत भाडा वृद्धि गरेर मर्कामा पारेको आरोप लगाइन् । जहाज भाडा बढाउने निर्णय फिर्ता नलिए सरकारविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि बाध्य हुने उनले चेतावनी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *