के एक दिन बालश्रम विरुद्ध दिवस मनाएर बाल अधिकारको सम्मान हुन्छ ?

काठमाडौँ, जेठ २९ । प्रत्येक वर्षको जून महिनाको १२ तारिखमा विश्व भरि अन्तराष्ट्रिय बाल श्रम विरुद्धको दिवस मनाउने गरिन्छ । नेपालमा पनि ‘बालश्रमको प्रयोग नगरौँ, युवा रोजगारको प्रवद्र्धन गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मानाईंदै छ ।

विभिन्न बहानामा विद्यार्थी पिट्ने शिक्षकहरुले आज आ–आफ्ना विद्यार्थीहरुलाई स्कुलमा चक्लेट बाँडेर मानाईरहेका छन् । किनकी आज बालबालिकाको दिन हो ।

सधैँ होटलमा साँझ विहान होटलमा भाँडा माझ्दै बस्ने बालबालिका आजै बालश्रम मुक्त हुन्छन् । हरेक दिन सार्वजनिक बसको ढोका ढक्ढक्याई यात्रुलाई बस चढ्न र ओर्लन आग्रह गर्ने सानो बाल पनि आजकै दिनमा बालश्रमबाट मुक्त हुन्छ ।

त्यस्तै नेपालमा बालबालिकाको हक अधिकारको रक्षाका निम्ति बनेको बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका प्रत्येकलाई बालबालिका भनेर परिभाषित गरेको छ । उनीहरुलाई आय आर्जनका लागि कसैले श्रमिक बनाउन कानुनी रुपमा अपराध मानिन्छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ कन्भेन्सनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एेक्यवद्धता जनाएको छ । यस भागका अनुसार बालबालिकाले हप्ताको १४ घण्टा कार्य गर्न सक्नेछन् तर यस कार्य वापत उनीहरुको नियमित विद्यालय, स्वास्थ र समग्र विकासमा कुनै हानी पुग्न नहुने भनेर उल्लेख गरिएको छ ।

बालश्रम बालबालिकाले कलिलो उमेरमा परिपक्व जस्तै गरी गर्ने काम नै शारीरिक वा मानसिक श्रम हो । शारीरिक वा मानसिक रुपमै बालबालिकालाई असर पुर्याउने कामहरूमा बालबालिका संलग्न हुन्छन् वा संलग्न गराइन्छ भने त्यसलाई नै बालश्रम भनिन्छ ।

विहान ६ बजे भृकुटिमण्डपमा पुग्दा त्यहाँ रहेको चिया पसलमा ११ वर्षिया सुरज मगरले चियाका गिलास ग्राहकका अगाडि टक्क राख्दिन्छन् र खाली गिलास उठाएर लैजान्छन् । ति खाली गिलास बजाउदै उनी भन्छन्,‘तपाईहरुलाई चिया बाहेक अरु केहि चाहिन्छ भने छिटो छिटो भन्नुस् है म ल्याईदिन्छु ।’

अगाडिको कपाल रङ्गाएर खैरो बनाएका सुरज चुलबुले स्वभावका छन् । ओखलढुङ्गा घर भएका सुरज करिब एक महिनादेखि चिया पसलमा काम गर्दै आएका छन् ।

उनी ग्राहकहरुको अर्डर अनुसार चिया नास्ता पस्कन्छन् । र फुर्सदमा फ्यान्टा र कोकाकोलाको बोत्तल टालोले पुछ्दै सफा पारेर फ्रिजमा राख्छन् ।

उनी जस्ता कयौँ बालबालिका छन् जो अहिले सम्म पढ्न लेख्न पाएका छैनन्, शरीरमा नयाँ लुगा फेर्न पाएका छैनन् । त्यसैले त आफ्नो आय आर्जनका निम्ति विभिन्न ठाउँहरुमा श्रम गरिरहेका छन् । श्रम गरेरै आफ्ना आवश्यकता पुरा गर्छन् । कतिपयको परिवार समेत उनीहरु मै निर्भर हुन्छ ।

विश्वले बालश्रम विरुद्ध दिवस मनाई रहँदा सुतिरहेका एनजीओ तथा आईएनजीओ आज बालबालिकाको हितका लागि आवाज उठाई रहेका छन् ।

बलबालिका विभिन्न काममा संलग्न भईरहँदा सारोकारवालाहरु किन उनीहरु माथि चासो देखाउँदैनन् तर आज भने विभिन्न नारा बाजी गर्दै सडकमा उत्रिन्छन् ।

श्रमिक बालबालिकालाई विभिन्न ठाउँबाट उनीहरुले आज उद्धार गरिहरेका छन् । उनीहरुको यो कामलाई सबैले सराहनीय उदाहरणका रुपमा दिन्छन् ।

तर किन श्रमिक बालबालिकालाई उद्धार गर्नका निम्ति बालश्रम विरुद्ध दिवस नै पर्खिनु पर्छ ? के आज उद्धार गरिएका सबै बालबलिका सुरक्षित छन् त ?

अवोध बालिका बलात्कृत हुँदा खोई कहाँ हुन्छन् उद्धार गर्ने र अन्यायको विरुद्ध लड्नेहरु ? आज उद्धार गरि दियो भोली पल्ट फेरी उहिँ स्थितीमा पुग्छन् ती कलिला बालबालिकाहरु । अहिलेसम्म पनि सरोकारवालाले आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।

उनीहरु आफ्नो स्वेच्छाले श्रम गरिरहेका छन् । त्यहि काममा उनीहरु सन्तुष्ट पनि छन् । उनीहरुलाई दुई छाक खाना र एकसरो लुगा लगाउन पुगेको छ ।

श्रम गरिरहेका ती बालबालिकालाई अनेक बहाना गरेर लैजाने ती एनजीओ, आईएनजीओहरुले राम्रोसँग उनीहरुको आवश्यक्ता पुरा गर्न नसक्दा बालबालिकालाई अलपत्र छोडेका कुराहरु पनि नबाहिरिएका भने होईनन् । कतिपय अर्गनाइजेसनहरु मै पनि उनीहरु शोषित भैरहेका छन् ।

अब कहिले सम्म स–साना बालबालिकाहरुले श्रम गरेर आफ्नो आय आर्जन गर्ने त ? के उनीहरुलाई आफ्नो बालपनमा रमाउने अधिकार छैन र ? के एक दिन बालश्रम विरुद्धको दिवस मनाएर बाल अधिकारको सम्मान हुन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *