राष्ट्रियसभा सदस्यको पदावधि टुंगो लगाउन असार ४ गते गोलाप्रथा

“
काठमाडौं, जेठ २७ । राष्ट्रियसभाका सदस्यको पदावधि तथा कार्यकाल टुंगो लगाउन असार ४ गते संसद भवनमा गोलाप्रथा गरिने भएको छ ।
संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि उल्लेख गरिएको छ । सोही अनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि टुंगो लगाउने भएको हो । गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्षको समय तय गरिनेछ ।
धारा ८६ को उपधारा ३ मा भनिएको छ– राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षको हुने गरी पदावधि कायम गरिनेछ । तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक बसेको सदस्यको पदावधि कायम गर्दा गोलप्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।”
नियमावलीमा भएको व्यवस्था अनुसार क्लष्टरअनुसार प्रतिनिधित्व भएका सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ ।
प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गरेका ३ जना खुला सदस्य र महिला सदस्यबीचमा गोलाप्रथा गरी २, ४ र ६ वर्षको कार्यकाल तय गरिनेछ ।
त्यसबाहेक सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्ने दलित सदस्यहरुबीचमा गोलाप्रथा गरिनेछ । त्यस्तै, अल्पसंख्यक तथा अपांगताको तर्फबाट प्रतिनिधित्व गर्ने सात सदस्यबीच पनि गोलाप्रथा गरिनेछ । राष्ट्रपतिबाट मनोनित ३ जनाबीच पनि त्यसैगरी हुनेछ भने राष्ट्रिय सभाका अध्यक्ष, सत्तापक्ष दलको नेता र विपक्षी दलको नेताबीच पनि गोलाप्रथा गरिनेछ ।
“








