कुखुराको मासु खपतमा गिरावट

भरतपुर,जेठ २४ । चितवनमा कुखुराको मासु खपतमा गिरावट आएको छ । असाध्यै गर्मी बढ्नु, मलमास पर्नु र कुखुरामा देखिएका विभिन्न रोगका कारण यतिबेला चितवनमा कुखुराको मासु खपतमा केही गिरावट आएको हो ।

खसी बोका मासु व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष उद्धव तिम्सीनाले चितवनमा कुखुराको मासु खपतमा २० देखि २५ प्रतिशतसम्म गिरावट आएको जानकारी दिए । उनले चितवनका सबैजसो मासु पसलहरुमा यही अनुपातमा मासुको खपतमा गिरावट आएको बताए ।

वर्डफ्लुको कारणले मात्र कुखुराको मासु खपतमा गिरावट नआएको उनको भनाइ थियो । उनले भने, ‘यो समय अफ सिजन हो, त्यसमाथि मलमास परेको छ, गर्मी बढेको छ । जसले गर्दा कुखुराको मासु खपतमा केही गिरावट आएको हो ।’

पूर्वअध्यक्ष तिम्सीनाका अनुसार यो बेला विवाहको लगन छैन, पिकनिक भोजभतेरको आयोजना गर्ने समय पनि होइन । संघसंस्थाले साधारण सभा र अधिवेशन राख्ने बेला पनि होइन । जसका कारण मासुको खपतमा कमी आएको हो ।

खसी बोका मासु व्यवसायी संघका अनुसार चितवनमा दैनिक झण्डै १० टन कुखुराको मासु खपत हुन्छ । भरतपुर नारायणगढ क्षेत्रमा मात्र ४०० को हाराहारीमा मासु पसल रहेका छन् । यतिबेला ब्रोइलर कुखुराको मासु प्रतिकेजी सरदर २८० रूपैयाँमा बिक्री भइरहेको छ । यसअघि कुखुराको मासु प्रतिकेजी ३०० रूपैयाँमा बिक्री भएको थियो ।

‘कुनै रोगले मासुको मूल्य घटाएको छैन, मासुमा १०/२० रूपैयाँ घटबढ हुनु सामान्य हो’ पूर्वअध्यक्ष तिम्सीनाले भने, ‘एक दुई दिन भयो, गिरावट आएको मासुको खपत विस्तारै बढ्न थालेको छ ।’

तिम्सीनाका अनुसार अब केही दिनमा मासुको मूल्य बढ्ने बताए । ‘रोगका कारण अहिले किसानले चल्ला हालेका छैनन, माग बढी हुन थालेको छ’ उनले भने, ‘उत्पादन कम, माग बढी भयो भने त कुखुराको भाउ बढ्छ ।’

असारमा कुखुराको भाउ बढ्ने उनले अनुमान गरे । भरतपुर ६ गीतानगरका कुखुरा किसान राजबहादुर भुजेलले विभिन्न रोगका कारण आफूले तत्काल चल्ला नहालेको र अब एक÷दुई दिनमा चल्ला हाल्ने बताए ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरि लोहनीले मासुको खपतको गिरावट समायोजनतर्फ गइरहेको बताए । उनले भने, ‘केही दिनअघि गिरावट थियो, अब विस्तारै खपत बढिरहेको छ ।’

भरतपुर–९ मिलनचोकका कृष्ण नेपाल आफूले नियमित कुखुराको मासु सेवन गरिरहेको बताए । उनले भने, ‘बर्डफ्लुु देखियो भन्दैमा मासु खान छोडेको छैन, आजसम्म कुनै मानिसलाई बर्डफ्लु देखिएको पनि छैन । चिकित्सकका अनुसार मासु पाकेपछि बर्डफ्लुका भाइरस सबै मर्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *