हङकङ जाने लोभमा गुम्यो एक करोड ४९ लाख, ठगि गर्ने दुई फरार

काठमाडौँ, जेठ २४ । हङकङ लैजाने लोभ देखाई २७ जनाबाट एक करोड ४९ लाख ५० हजार ठगि गर्ने दुई जना फरार भएका छन् । यमबहादुर गुरुङ, लक्ष्य गुरुङ, मिलन गुरुङ लगायत २७ जनालाई हङकङ लाने भन्दै एक करोड भन्दा बढी ठगि गरी गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङ फरार भएका हुन् ।

पीडितहरुले बिहीबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङकङ लैजाने भनेर ठग्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

२०७२ सालमा उनीहरुबाट ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर दुई जना फरार भएको बताउँदै पीडितहरुले राज्यले आफूहरुको समस्यालाई चासो नदिएको गुनासो गरे ।

‘लम्जुङको दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङकङ लैजान्छु भनेर रकम लिएकी थिइन्’, पीडित मध्येका यमबहादुर गुरुङले भने, ‘त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्की पूर्ण कुराहरु आयो ।’

उनले थपे, ‘हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाएँ । तर, अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने । आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्किनु पर्यो । सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’

उनले अघि थपे, ‘हामी २७ जना मध्ये एकजना हरिबहादुर राना मगरका बाबाले रण बहादुर रानाले चितवनमा रहेको जग्गा धितो राखेर १० लाख पैसा बुझाउनु भएको थियो, आजको दिनमा त्यो जग्गा बैंकले लिलाम गर्ने तयारी गरिरहेको छ, यस्तो स्थितिमा पनि हामी पीडितहरुले न्याय पाउन सकेका छैनौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *