फोरम नेपालसँग कुनै सहकार्य नगर्ने राजपाको निर्णय

“
काठमाडौं, जेठ २४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरम नेपाल सँग कुनै सहकार्य नगर्ने निर्णय गरेको छ । फोरम संघीय सरकारमा सहभागी भएपछि राजपा ले सो दलसँग कुनै सहकार्य वा गठबन्धन नबनाउने निर्णय गरेको हो ।
तीन दिनदेखि जारी राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले फोरम सँग सहकार्य नभएतापनि जनताको भावना अनुसार गठन भएकोले प्रदेश २ मा फोरम नेपालसँगको गठबन्धनका साथै सरकार नछाड्ने निर्णय गरेको हो ।
फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने चर्चा चलेको थियो ।
राजपा नेपालका महासचिव एवं प्रदेश २ का सांसद मनिष सुमनले बुधवार एक कार्यक्रममार्फत राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने घोषणा गरेका थिए ।
अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा नेपालले प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए । उनले भने, ‘प्रदेश २ को सरकार टेक्निकली गठन भएको सरकार होइन, जनताको म्याण्डेट अनुसार गठन भएको सरकार हो, यसलाई कसैले चाहेर पनि भत्काउन सक्दैन ।’
चुनावको समयमा मधेश सरकार निर्माण गर्ने प्रतिवद्धता अनुसार नै सो सरकार गठन भएको भन्दै उनले भने, ‘ राजपा नेपाल तोड्ने होइन, जोड्ने काममा लागेको छ ।’
‘फोरम नेपालको नेतृत्वमा बनेको सरकार हो । सो दलले कुनै कारणवश आफैं भत्कायो भने त्यसमा राजपा नेपाललाई केही भन्नुछैन, तर यही अवस्थामा सरकार नछाड्ने राजपा नेपालले आधिकारिक निर्णय नै गरेको छ ।’, उनले थपे ।
केन्द्र र प्रदेशको कुरा छुट्टा छुट्टै भएको भन्दै यादवले भने, ‘प्रदेशमा जनताको चाहना अनुसार फोरम र राजपा नेपालको गठबन्धन बनेको हो । तर केन्द्रमा अब फोरम नेपालसँग कुनै सहकार्य हुँदैन ।’
फोरम नेपाल सत्तापक्षका भएका हुनाले केन्द्रमा तत्कालै कुनै सहकार्य नगर्ने राजपा नेपालले निर्णय गरेको छ । केन्द्रमा फोरम नेपालसँग राजपा नेपालको विचार, सिद्धान्त, कार्यनीति लगायतमा लाइन नै फरक रहेको बताइएको छ ।
“








