ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ९९ पुग्यो, १९८ बेपत्ता

ग्वाटेमाला, जेठ २४ । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको संख्या बिहीबार बिहानसम्म ९९ पुगेको छ ।

बुधबार राति थप व्यक्तिहरुको शव प्राप्त भएपछि उक्त प्राकृतिक प्रकोपमा परी ज्यान जानेको संख्या ९९ पुगेको बिहीबार जानकारी दिइएको छ ।

यस प्रकोपको कारण अझै पनि करिब १९८ व्यक्ति वेपत्ता रहेका ग्वाटेमालाको प्रकोप व्यवस्थापन निकायले जानकारी दिएको छ ।

राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी एक शताब्दियताकै शक्तिशाली भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् ।

मङ्गलबार र बुधबार रातिसम्म केही थप शव फेला परेपछि सो सङ्ख्या ९९ पुगेको र अझै ठूलो सङ्ख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ ।

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ ।

सेना र प्रहरीको सहयोगमा उद्धारको काम जारी रहेको बताइएको छ । उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *