नक्कली कागजात बनाउने वीर अस्पतालका दुई कर्मचारीविरुद्ध मुद्धा

काठमाडौँ, जेठ २३ । वीर अस्पतालमा कार्यरत दुई कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई बचाउन कीर्ते कागजात बनाउन ५० हजार घुस लिएको अभियोगमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सातौं तहमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र अस्पताल सेवा आयोगको सचिव लक्ष्मणप्रसाद अर्यालले नक्कली लिखत तयार गरेको अख्तियारको आरोप छ।

दुई कर्मचारीसहित कागजात बनाउन लगाउने अरु २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर गरेको छ ।

बलात्कार गर्न खोजेको आरोप लागेका ललितपुरका उद्ववप्रसाद नेपाल घटनाको दिन वीर अस्पतालमा उपचारत रहेको कागजात उनीहरूले बनाएका थिए। सोही कागजात पाटन उच्च अदालतमा पेश भएको थियो।

उक्त कागजात नक्कली रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको थियो। त्यसपछि भएको अनुसन्धानबाट नेपालका ससुरा केदारनाथ पराजुलीले दिएको ५० हजार रुपैयाँ लिएर उनीहरूले नक्कली लिखत बनाइदिएको अख्तियारले जनाएको छ।

नक्कली लिखत बनाउने कार्यमा संलग्न भन्दै चारै जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

वीर अस्पतालका कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नेपालका ससुरा केदारनाथ पराजुलीसँग पचास हजार लेनदेन गरी उद्बवप्रसाद नेपाल चिकित्सा विज्ञान,वीर अस्पतालमा उपचारार्थ रहेको गलत लिखत तयार गरी नक्कली कागजात पुनरावेदन अदालत, पाटनमा पेश गरेको तथ्य पुष्टि भएको देखिन आएको छ ।

उनीहरूलाई लगाइएको अभियोग प्रमाणित भए तीन महिनादेखि २ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =