चुनौति र जिम्मेवारी बहन गर्न नसके ठूलो फ्रस्टेसन आउने खतरा – प्रचण्ड

“
काठमाडौँ, जेठ २१ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश दुईमा सरकारलाई अस्थीर बनाउने चलखेल भएको बताएका छन् । नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार बिहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा सरकारलाई अस्थीर बनाउने चलखेल भइरहेकोले संघीय समाजवाद फोरमलाई केन्द्र सरकारमा ल्याउन परेको बताएका हुन् ।
‘दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको या त्यसको निम्ति कसरत भएको हामीले देखेका थियौं । त्यसको ढोका चाहिँ बन्द भयो, उनले भने ।
साथै बजेटका टिप्णीलाई औल्याउँदै प्रचण्डले भने, अब अपोजिसन (प्रतिपक्ष) ले कसरी काम गर्छ र सत्तापक्षले कसरी काम गर्छ, ति सबै इतिहासको परीक्षामा छन्, एक नम्बर गिएरमा जाँदा केही फरक पर्दैन ।, अहिले हामी एक नम्बर गिएरमा लगाएर जाँदा केही फरक पर्दैन । क्रमशः दुई नम्बर, गर्दै गियर बढाउँदै लगेर पाँच वर्ष पुग्दाखेरि चाहिँ गुणात्मक ढंगले जाने वातावरण बनाउनुपर्छ ।
प्रचण्डले संघीय समाजवादी फोरमको नाम नलिइकन भने, अहिलेको केन्द्र सरकारको फर्मेसनले अब दुई नम्बर प्रदेशमा पनि केन्द्र सरकारकै प्रभावमा सरकार बन्ने बाटो खुल्यो ।’
आर्थिक वर्ष २०७५/७६ को बजेटको सत्तापक्षबाट समेत आलोचना भइरहेको बेला उनले आगामी दिन अझ सन्तुलित ढंगले अगाडि बढ्ने पाठ सिकेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत तीनै तहको सरकार बनेपछिको पहिलो बजेट भएकाले पनि केही प्रश्नहरु उठेको उनले बताए । विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डले स्पष्ट पारे ।
‘चुनाव जित्न जनतालाई भावनात्मक रुपले सन्देश दिने बाध्यता नभएतापनि यसको पक्ष विपक्षमा छलफलहरु, टिप्पणीहरु भएका छन्, उनले भने ।
पाँच वर्ष यो सरकार चल्ने वाला छ भन्दै प्रचण्डले भने बजेटको टिप्णीहरुले आउने दिनमा अझ सन्तुलित ढंगले अगाडि बढ्ने र गम्भीर ढंगले ध्यान दिने प्रक्रियामा हामी छौं ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकार तानाशाही बन्ने सम्भव नभएको पनि स्पष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘नेपालमा लोकतान्त्रिक क्रान्तिको या गणतान्त्रिक आन्दोलनको नेतृत्व र सबभन्दा बढी बलिदान कम्युनिस्टहरुले नै गरेर यहाँ लोकतन्त्र र गणतन्त्र आयो । त्यसकारण कम्युनिस्टहरु अटोक्रेसीतिर जान्छन् कि भन्ने कुरा बिल्कुल निराधार र नेपालको ऐतिहासिक यथार्थसँग मेलै नखाने कुरा हो ।
उनले कम्यनिस्टहरुले मात्रै लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्न सक्ने बताए ।
साथै उनले नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र तत्कालीन माओवादीको एकताले ठूलो जिम्मेवारी र ठूलो चुनौतिको भारी बोकाएको बताए । यो जिम्मेवारी र चुनौति सामना गर्न नसकेमा नेता, कार्यकर्ता र आम जनतामा निराशा आउने खतरा रहेको पनि बताए । उनले भने चुनौति र जिम्मेवारीलाई राम्रोसँग आत्मसाथ गर्न सकेनौँ भने निकै ठूलो फ्रस्टेसन आउने खतरा छ ।
“








