कम्युनिस्ट शासन पतनको दिशातिर उन्मुख छ–काँग्रेस उपसभापति निधि

“
काठमाडौँ, जेठ २० । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विचारधाराको परिवर्तनसँगै कम्युनिस्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको बताएका छन् । वन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटन गर्दै निधिले सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउँ बाकी नरहेको भन्दै कम्युनिस्ट पतनको दिशातिर उन्मुख भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै निधिले कम्युनिस्ट विचारधारा पतनको दिशातिर उन्मुख हुुँदै गएको बताएका हुन् । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको उनको भनाइ थियो । साथै नेपालमा कम्युनिस्ट सरकार कमिलाको प्वाख पलाएजस्तो भएको टिप्पणी गरेका छन् । निधिले भने, जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउँँछ, त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।
निधिले सरकारले संघीयता, समावेशीताबिरुद्ध सिण्डिकेट खडा गरेको टिप्पणी समेत गरेका छन् ।
रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिस्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको निधिले बताए ।
उनले भने, बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ, अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।
सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाएन भनेर सोध्नुपर्नेमा चाकडी मात्र गरेको उनको टिप्पणी छ ।
“








