कार्णाली प्रदेशमा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

“
सुर्खेत, जेठ १९ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरमा आज सुरु भएको छ। तिन दिनसम्म चल्ने प्रतियोगितामा कर्णाली प्रदेशका दश जिल्लाको सहभागिता रहने आयोजकले जनाएको छ।
यसअघि मध्यपश्चिमाञ्ल क्षेत्र स्तरीय हुदैँ आएको प्रतियोगिता पहिलो पटक प्रदेश स्तरीय हुन लागेको खेल समितिका संयोजक शान्ति सिंहले बताइन्।
प्रतियोगितामा कर्णालीका सुर्खेत, दैलेख, हुम्ला, मुगु, कालिकोट, जाजरकोट, पश्चिम रुकुम, सल्यान, र डोल्पाका गरी ८ सय ४० जना उत्कृष्ठ खेलाडी सहभागी हुने भएका छन्। माध्यामिक विद्यालय तहका छात्राछात्रले भलिवल, कबड्डी, एथ्लेटीक्स, कराँते, तेकवान्दो, उसु लगायतका विभिन्न ६ खेल गरी एक विद्यालयले ८४ जना विद्यार्थी सहभागी गराउने छ।
खेलाडीले स्वर्ण, रजत र कास्य गरी जम्मा ३०४ पदकको लागि प्रतिष्पर्धा गर्ने छन्।
खेलमा प्रथम हुने जिल्लाले नगद २० हजारसहित शिल्ड प्राप्त गर्ने छन् भने द्वितिय स्थान प्राप्त गर्ने जिल्लाले नगद १५ हजार सहित कप पाउने छन्। त्यस्तै, तृतिय स्थान प्राप्त गर्ने जिल्लाले नगद दश हजार सहित पुरुस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ।
उक्त प्रतियोगिताबाट छनौट भएका १०२ जना खेलाडी काठमाडौँमा हुने राष्ट्रव्यापी संघस्तरीय दशौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुने छन्।
“








