बोक्सी भन्दै राधालाई निर्घात कुटपिट गर्ने भोले बाबालाई ५ वर्ष कैद

काठमाडौ,जेठ १९ । बोक्सीको आरोप लगाउँदै युवतीलाई निर्घात कुटपिट गर्ने कैलालीका भोले बाबा भनिने राम बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी ५ वर्ष कैद र एक लाख रुपियाँ जरिवानाको फैसला गरेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीले गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन गाउँकै राधा चौधरीलाई बोक्सीको आरोप लगाउदै चरम यातना दिएका थिए ।

रामबहादुर उर्फ भोले बाबाका सहयोगीहरुलाई पनि कैद सजाय सहित जरिवाना फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ ।

अदालतले पार्वती भनिने किस्मती चौधरीविरुद्ध पनि एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । किस्मतीले पनि राधालाई  कुटपिट गरेकी थिइन् । यसैगरी, अर्का सहयोगी स्मारिका चौधरीलाई छ महिना कैद र २५ हजार रुपिया जरिवाना सुनाइएको छ । उनीहरुले सोही दिन हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

रामबहादुरको सहयोगीकै रुपमा पक्राउ परेका अन्य तीन जनाले भने सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र राम बहादुरकी आमा सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।

पीडित राधा चौधरीले भने कैलाली जिल्ला अदालतले गरेको फैसलाप्रति चित्त नबुझेको भन्दै आफूलाई कुनै पनि जानकारी नगराएर दोषीलाई कम सजाय दिने वा उम्काउने नियतका साथ गुपचुपमा फैसला गरेको आरोप लगाएकी छिन् ।

‘मलाई यातना दिने विरुद्ध फैसला गर्ने बेलामा मलाई जानकारी गराउनु होला भनेर मैले न्यायाधीशलाई भनेकी थिएँ’, उनले भनिन्, ‘तर, गुपचुपमा फैसला गरियो । मलाई कुनै पनि जानकारी गराइएन । आज थाहा पाएँ । झनै अन्याय भएको महसुस भयो । चिन्ताले खाना पनि खाएको छैन ।’

दोषीहरुविरुद्ध सजायको फैसला हुँदा पनि आफूले न्याय महसुस गर्न नसकेको राधाले बताइन् । ‘मैले जीवनमा कहिल्यै बिर्सन नसक्ने गरी पीडा पाएँ, उनीहरुले ममाथि अन्याय गरे । तर, त्यसको सजाय पाँच वर्ष, एक वर्षमात्रै हुने त र ?’, उनले अगाडि थपिन्–‘न्याय दिन्छौं भनेर सबैले भने । न्यायाधीशले पनि त्यही भन्नु भएको थियो । तर, मैले न्याय महसुस गर्न सकिनँ ।’

घटनाको बखत दोषीहरुमाथि कम्तीमा पनि ८/१० वर्षको जेल सजाय हुने भनेर सबैले भने पनि अन्ततः गुपचुमा फैसला गरेर कम सजायको फैसला गरिएको राधाको आरोप छ ।

राधाले आफ्नो गाउँमा निर्धक्क साथ बस्न सक्ने र हिँड्न सक्ने वातावरण अझै पनि नबनेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *