मेले देखेको सपना र पत्रकारिताको वास्तविकता

” 

जब म सानो थिएँ, मलाई अचम्म लाग्थ्यो रेडियोमा बोलेको देख्दा । सोच्थेँ त्यो सानो रेडियोमा त्यति ठूला मानिसहरु कसरी अटाउँछन् अनि कसरी बोल्छन् होला ? कति पटक त आफ्नो कौतुहल मेटाउने क्रममा रेडियो समेत फुटालेकी थिएँ, रेडियो भित्रको मान्छे हेर्नका निम्ति । कति पटक बा–आमाको पिटाइ पनि खाइन्थ्यो, रेडियो फुटालेको भन्दै ।

जब म बुझ्ने भएँ, मलाई सञ्चार माध्यमको बारेमा थाहा हुन थाल्यो । त्यो कौतुहलता मेटाउन मैले रेडियो फोरिरहनुपर्ने पनि भएन । तर, ठूलो भएपछि मानिसका चाहना पनि बढ्दै जान्छन् । त्यस्तै भयो मेरो पनि, सानोमा रेडियोमा बोलेको मानिस हेर्न रेडियो फुटाएँ भने, जब ठूली भएँ तब त्यस्तै गर्ने चाहना हुन थाल्यो । सधैँ आफ्नो गृहकार्य सकेर रेडियो, टेलिभिजनका अगाडी चनाखो भएर बस्ने त मेरो दिनचर्या नै हुन्थ्यो । सायद सानो बेलाको प्रभाव, रेडियोप्रतिको लगावले पनि होला, म रेडियोका कार्यक्रमहरु कहिल्यै छुटाउँदिन थिएँ ।

जति–जति उमेर बढ्दै गयो, चाहना झन वृद्धि हुने रहेछन् । मलाई पनि पत्रकारीताको रहर जागेर आउन थाल्यो । पत्रकारीताप्रति मेरो लगाव दिनप्रतिदिन बढ्ने क्रममा थियो । मात्र एक अवसर पाए पत्रकारीतामै प्रलय ल्याउथेँ जस्तो लाग्थ्यो । इच्छा र चाहना हुनुपर्छ असम्भव केही छैन भन्ने सुनेकी थिएँ, तर आफ्नो सपना पुरा हुन्छ–हुन्न भन्नेमा सदैव दुविधा नै रहन्थ्यो ।

भाग्यको खेल भनौँ या जे भनौँ, एकदिन सञ्चार माध्यमसँग प्रत्यक्ष जोडिनु भएका साहित्यकार तथा पत्रकार सगोत्री आचार्यसँग मेरो भेट भयो ।

उहाँले मलाई मकालु खबरसँग जोडिने अवसर प्रदान गरिदिनु भयो । उहाँलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, जसले मलाई मेरो अधिक इच्छा भएको क्षेत्रमा अगाडी बढ्ने अवसर र हौसला प्रदान गरिदिनु भयो ।

त्यस्तै पत्रकारीतामा प्रवेश गरी त्यसमै केही गर्ने मेरो सपना साकार बनाउने मौका दिनुभएकोमा मकालु खबरप्रति पनि आभार प्रकट गर्दछु ।

मकालु खबरमा प्रवेश गरेर मैले धेरै कुराहरु सिक्ने अवसर पाएँ । साथै मकालु खबरका सम्पूर्ण टिम तथा मेरा सहकर्मीहरुलाई पनि म विशेष आभार प्रकट गर्न चाहन्छु, जसले मलाई पत्रकारीताका विविध पक्षहरुको जानकारी दिनुभयो, सिकाउनुभयो, मलाई अझै राम्रो गर्न हौसला दिनुभयो, म भित्रको पत्रकारीतालाई अझै सुदृढ बनाइदिनुभयो, सदैव अगाडी बढ्न प्रेरित गर्नुभयो ।

मलाई गर्व छ कि म मकालु खबर जस्तो सक्रिय र शसक्त टिममा जोडिन पाएँ । र मैँले यो पनि बुझेँ कि मैले देखेको पत्रकारीता र पत्रकारीताको वास्तविकता फरक रहेछ ।

आज बल्ल राम्रोसँग बुझ्ने अवसर पाएँ । सामाजिक क्षेत्रमा सञ्चारको भूमिका पृथक हुँदो रहेछ । कुनै पनि घटनाका बारेमा सहि समयमा सत्य तथ्य जानकारी दिनु सञ्चारको दायित्व हो । कुनै पनि भाषा, सुचना तथा जानकारीको आदानप्रदान दिने प्रक्रिया हो सञ्चार । सहि सुचना तथा जानकारीको आदानप्रदान गर्ने भुमिकामा हुन्छन् सञ्चार माध्यम ।

समय परिवर्तनशील छ, आजको युग भनेको प्रतिस्पर्धात्मक युग हो । सञ्चारको क्षेत्रमा होस् या औद्योगिक, शिक्षा होस् या राजनीति, जागीर होस् या व्यापार सबै ठाउँमा भिन्न प्रकारका प्रतिस्पर्धा भइ नै रहन्छन् । तर प्रतिस्पर्धा चाहे जे मा होस्, जस्तो होस् जीत त उसैको हुन्छ, जो सच्चा हृदय, तन, मन, वचन र कर्मले आफ्नो पेशामा लागि पर्छ ।

उही अगाडी बढ्छ जो क्रियाशील छ, पेशामा इमान्दारीता निभाउँछ । उसैले सफलता प्राप्त गर्छ, जो समयसँगै परिवर्तन हुन सक्छ, आफुलाई समयकै रफ्तारमा दौडाउन सक्छ ।

अझ भनौँ त सञ्चार, सञ्चारका हरेक चुनौति श्रोता, दर्शक र पाठकसँग प्रत्यक्ष जोडिएका हुन्छन् भने अवसर पनि उनैसँग । सञ्चार भरपर्दो तब मात्र घोषित हुन्छ, जब स्वतन्त्र पत्रकारितालाई आत्मसात गर्दै कुनै घटनामा केन्द्रित रहेर सहि समयमा, सहि सुचना निष्पक्ष रुपमा आदानप्रदान गर्न सक्छ, नहिच्किचाइकन सत्य तथ्य विश्लेषणमा साहस राख्न सक्छ ।

कुनै घटना यस्ता हुन्छन् जो प्रत्यक्ष आँखाले सारा कर्तुत देख्दा पनि कसैको धम्क्याइ र मारिने डरले सहि सूचना कैद गर्नबाट बञ्चित हुन्छन् पत्रकार । कतिपय पत्रकारहरु भने लोभ र लालचमा राजनीतिक तथा घुसखोरीलाई संरक्षण दिने समाचारहरु पनि फैलाउन पछि परिरहेका हुँदैनन् । त्यस्ता पत्रकार के पत्रकार जो समाजप्रतिको दायित्व बहन गर्दैनन् ! वास्तवमा ती पत्रकारलाई पत्रकार होइन, कार्यकर्ता भन्दा फरक नपर्ला ?

मिडिया हुन् या पत्रकार जो श्रोता तथा पाठकको आँखामा छारो हाल्ने कोशिस गर्छन्, उनीहरुको अस्तित्व गुमनाम हुन बेर लाग्दैन । आजभोली त फेक मिडियाहरु पनि प्रशस्तै फैलिरहेका छन्, जसले झुट्टा खबरहरु फैलाएर समाज र राष्ट्रमा सनसनी मच्चाइरहेछन् । सरकारले सहि मिडियाको पहिचान गरेर यस्ता फेक मिडियाहरुलाई खारेज गर्नु आवश्यक छ, ताकि राम्रा र विश्वसनीय मिडियाहरुलाई अघि बढ्ने हौसला मिलोस् ।

पत्रकारीता भनेको समाजको दर्पण हो, जे देखिन्छ त्यो लेखिन्छ । सञ्चार समाज र राष्ट्रको पहरेदार पनि हो । यसले समाज र राष्ट्रमा भएका गलत घटनाहरुको बारेमा औँला उठाइ सदैव सावधान गराउँछ । तर आजभोली पत्रकारीतामा पनि चोरी चकारी बढेर सिर्जनशिलतामा ब्रेक लागेको देखिन्छ । सञ्चारमा सधैँ राजनीतिलाई नै बढी प्राथमिकतामा राखिएको छ । सञ्चारले त छायाँमा परेका प्रतिभाहरुलाई पनि उजागर गर्न सक्नुपर्छ जो सदैव सच्चा र इमान्दार पत्रकारीताभित्र परोस् । हो म सदैव सञ्चारका चुनौतिहरुलाई आत्मसात् गर्दै अघि बढ्ने कोशिस गर्नेछु । साथै तन, मन र वचनले समाज र राष्ट्रप्रतिको आफ्नो दायित्व सदैव निर्वाह गर्नेछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =