सुन काण्डका अभियुक्त एसएसपी खत्री फेरि जेल चलान

“
काठमाडौं, जेठ, १७ । सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री जेल चलान भएका छन् । ३८ क्वीन्टल सुन तस्करीमा नाम जोडिएका खत्रीले बिहीबार जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।
जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिनेछ । उनीसंग जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो ।
यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो । खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको थियो ।
प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्रीले विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए ।
बिहीवार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका एसएसपी श्याम खत्रीले ‘सुन तस्करी गरेको’ अस्वीकार गरेका छन्।
पाँच घन्टा लामो बयानमा एसएसपी खत्रीले ‘सुन नै नभेटिएको भन्दै के को तस्करीरु’ भन्दै प्रतिप्रश्न समेत गरे ।
अदालतमा उनले गोरेले आफूलाई नटेर्ने र सुन काण्डमा आफ्नो संलग्नता नभएको बयान दिएका छन् ।
एसएसपी खत्री यसअघि ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । पछि अदालतले उनलाई सफाई दिएको थियो ।
“








