संसद बैठकमै रोए जुम्लाका सांसद महत

काठमाडौँ, जेठ १७ । सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमै रोएका छन् । २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा विहिबार आफ्नो धारणा राख्दै सांसद महत प्रतिनिधीसभा बैठकमै रोएका हुन् । अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको उनको गुनासो छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको उनको भनाई छ । सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भए भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई अपमानित गर्न पाइन्छ ? ’ हामीलाई वडा अध्यक्षको ठाउँमा राख्न पाइन्छ ? कोही मन्त्री हुँदैमा यस्तो गर्न पाइन्छ ? यो अधिकार कसैलाई छ ? ’

आफ्नो विरोधले केही नहुने जान्दाजान्दै असन्तुष्टि राख्नुपरेको उल्लेख गर्दे उनले भने ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ, बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन ।’ बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले भने, ‘बजेट मेरा लागि आकाशको फल आँखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न हर्ष न विस्मात छ । मेरा लागि र मेरो जुम्लाका लागि ।’

उनले भने, ‘नेताहरु जाने ठाउँमा जति बजेट जान्छ, त्यति जानुपर्यो न हामीलाई । मैले एउटा हाइड्रोपावर सोचेको छु, त्यसमा बजेट हालिदिनुु्, सकियो । एक रुपैयाँ चाहिँदैन । त्यो गन्हाएको बजेट मलाई किन चाहिन्छ ? ’

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै महतले असन्तुष्टि जनाए । दिनभरी संसदमा बस्दा पनि तपाई त हुनुहुन्न रे भन्दै जनताले फोन गर्ने गरेको भन्दै उनले भने, ‘फलानो सांसद छैनन, एनजीओको कार्यक्रममा छ भन्नुपर्‍यो । हामी सोझालाई बलीको बोका बनाउने ? ’

उनले रोजगारीको जिम्मा सबै बैंकलाई र स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई दिने सरकारको नीति गलत भएको टिप्पणी गरे । ‘हिजोका सामन्त र मुखियाहरुले आज बैंक थापेर बसेका छन् जसलाई रोजगारीको जिम्मा लगाईएको छ । स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई लगाईएको छ । कर्णाली र जुम्लाका जनता विमाको कागत लिएर कहाँ जाने ? काठमाण्डौ आउन जान ५० हजार भाडा लाग्छ । बिमा कागज लिएर म कता जाने ? ’ सांसद महतको प्रश्न छ ।

बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *