तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट विनियोजन

तेह्रथुम, जेठ १७ । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ ।

सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।

आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्याङलुङ नगरपालिकाका लागि रु २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा रु २१ करोड २७ लाख, छथर गाउँपालिकामा रु २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा रु २० करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

सरकारले छुट्याएको बजेटमा प्रदेश नं १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्लामा तेह्रथुम परेकोे छ ।

सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाका लागि छुट्याइएको छ । प्रदेश नं १ का जिल्लामध्ये ताप्लेजुङका लागि रु एक अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा रु एक अर्ब ९० करोड २८ लाख, इलाममा रु दुई अर्ब ४८ करोड ९३ लाख, झापामा रु चार अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि रु दुई अर्ब १७ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, धनकुटाका लागि रु एक अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा रु एक अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा रु तीन अर्ब ९५ करोड ९२ लाख र मोरङमा रु पाँच अर्ब ३० करोड ८२ लाख विनियोजन गरेको छ ।

प्रदेश नं १ कै सोलुखुम्बुमा रु एक अर्ब ६१ करोड ९८ लाख, खोटाङमा रु दुई अर्ब २७ करोड २९ लाख, उदयपुरमा रु दुई अर्ब ४३ करोड तीनलाख र ओखलढुंगामा रु एक अर्ब ७२ करोड २५ लाख विनियोजन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =