ढुङ्गेल प्रकरण : सर्वोच्चले गर्यो अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, जेठ १५ । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा ढुङ्गेलको असल चालचलनको कारण सजायमा ६० प्रतिशत छुट दिने गरी सिफारिस भएर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट माफी भएर मंगलबार बिहान कारागारबाट मुक्त भइसकेको हुँदा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको हो ।

आदेशमा भनिएको छ, “ढुङेललाई बाँकी कैद सजाय मिनाहा दिने गरी मन्त्रिपरिषद्को निर्णयसमेतबाट भएका सिफारिशसमेतको काम कारबाहीसमेत यसअघि २०७२ पुस २३ गते मा भएको फैसला विपरीत छ छैन र उक्त सिफारिश कागारागर नियमावली, २०२० बमोजिम छ छैन भन्ने विषय प्रस्तुत मुद्दाको अन्तिम निर्णय हुँदा विचार हुनेछ ।”

गणतन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाहा भएपछि ढुङ्गेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा माफी दिने ‘सरकारी निर्णय’ रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दिएका थिए ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनाको कारणसहित २४ घण्टाभित्र दुवै पक्षलाई छलफलका लागि मंगलबार बोलाएको थियो । सोमबारको सुनवाइपछि अदालतले सरकारले सजाय मिनाहासम्बन्धी सक्कल फाईल मगाउने आदेश जारी गरेको थियो ।

मंगलबार अदालतल शुरु हुनुभन्दा अगाडि नै सजाय मिनाहा भएर ढुङ्गेल जेलमुक्त भईसकेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *