बालकृष्ण ढुंगेल प्रकरण : सर्वोच्चले कैद मिनाहा बारे सक्कल फाइल झिकाउन आदेश दियो

“
काठमाडौं, जेठ,१४। सर्वोच्च अदालतले नेता बालकृष्ण ढुंगेलको कैद मिनाहासम्बन्धी निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
ज्यान सम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका नेता ढुंगेलको बाँकी कैद मिनाहा सम्बन्धी सरकारी निर्णयको सक्कल फाइल झिकाउन न्यायाधीश मीरा खड्का र टंकबहादुर मोक्तानको इजलासले माग गरेको हो ।
सोमबार सरकारी वकिलले ढुंगेलको कैद मिनाहाको सिफारिस गृह मन्त्रालयसम्म पुगेको जानकारी पाएको बताउँदै के आधारमा माफी दिएको हो आफूले पत्र हेर्न नपाएको बताएका थिए ।
लगत्तै न्यायाधीश मीरा खड्काले के आधारमा मिनाहा गर्न लागेको भनी प्रश्न गरिन् । वकिलले त्यसबारेमा आफूलाई थाहा नभएको बताएपछि सक्कल फाइल मगाउन आदेश भएको हो । सर्वोच्चको आदेशमा भनिएको छ ‘विपक्षी बालकृष्ण ढुंगेललाई सजाय मिनहा सम्बन्धी सक्कल फाइल इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनुहोला ।’
सर्वोच्चले यस सम्बन्धी बहस समय अभावका कारण नसकिएको भन्दै मंगलबार पनि बहस जारी रहने बताएको छ ।
सरकारले गणतन्त्र दिवसको अवसर पारेर ढुंगेलको बाँकी कैद मिनाहा गर्ने तयारी गरेपछि त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र ढुंगेललाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए । उनले ढुंगेलको कैद मिनाहाको निर्णय रोक्न अन्तरिम आदेश माग गरेका थिए ।
गत शुक्रबार सर्वोच्च अदालतले ढुंगेललको कैद मिनाहा गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिँदै अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सोमबार दुबै पक्षलाई बोलाएको थियो ।
“








