उपत्यका बाहिरका विश्वविद्यालयका काठमाडौँ सम्पर्क कार्यालय खारेज

“
काठमाडौँ, जेठ १० । काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् ।
पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, कृषि तथा वनलगायतका ११ विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकाबाहिर रहेका छन्।
यस्ता सम्पर्क कार्यालयहरुको खास भूमिका र प्रभाव नरहेकोले हटाउने निर्णय भएको मन्त्री पोखरेलका निजी सचिव पुष्प ढकालले बताए ।
संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव ढकालले जानकारी दिए ।
काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ ।
ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दैछ ।
“








