त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः आजदेखि राति ३ बजेसम्म चल्ने

“
काठमाडौँ, जेठ ७ । त्रिभुवन विमानस्थल आज (सोमबार) बाट राति ३ बजेसम्म चल्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक साँझको साँढे १२ बजेसम्म सञ्चालन हुँदै आएकोमा तीन घण्टा थप गर्दै अब राति ३ बजेसम्म सञ्चालनमा ल्याइने भएको हो ।
विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी गरी २१ घण्टा सञ्चालनमा ल्याइएको हो । साथै त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति समेत व्यवस्थापन भइसकेको विमानस्थलका महाप्रबन्धकले जनाएका छन् ।
दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ । अब विगतको जस्ता समस्या पनि रहँदैन् ।
बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न दिएको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।
“








