एन आई सी एशिया बैंकको कृषि तथा पर्यटन ब्यवसाय कर्जा सुचारु

“
काठमाडौँ, जेठ ४ । एन आई सी एशिया बैँकले कृषि तथा पर्यटन व्यवसाय कर्जा सार्वजनिक गरेको छ । विभिन्न किसिमका जनमुखी बैंकिङ्ग सुविधाहरु पस्कदै सर्वसाधारणहरुको बैँकको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको एन आई सी एशियाले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको हो ।
कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका ब्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको हो । साथै बैँकले यस योजनाले कृषि तथा पर्यटन ब्यवसाय बृद्धिमा थप टेवा पुर्याउने विश्वास समेत लिएको छ ।
ब्यवसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५% ब्याज अनुदानको लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने उक्त योजनाबाट कृषि उद्यमीलाई आफ्नो ब्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास रहेको बैँकले जनाएको छ ।
उपरोक्त ब्यवसायिक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत एन आई सी बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको र सो बाट सम्पुर्ण कृषि तथा पर्यटन ब्यवसायी लाभान्वित हुने एन आइ सी एशियाका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सुचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।
एन आई सी बैँकले मुलुकभर २११ शाखा कार्यालयहरु, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखारहित बैंकिङ्ग मार्फत सर्वसाधारणमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार रू. १५९ अर्ब भन्दा बढि रहेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३५ अर्ब रहेको छ । यस सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा एन आइ सी बैँक रहन सफल भएको छ । साथै संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि बैंकले पालना गर्दै आएको जनाएको छ ।
“








