मोरङ जिल्लाको कटहरीसम्म यसै वर्षमा आउनेछ रेल

विराटनगर,जेष्ठ ३ । भारतबाट नेपालको मोरङ जिल्लाको कटहरीसम्म रेल ल्याउनका लागि धमाधम रेलमार्ग निर्माण भइरहेको छ । सरोकारवालाहरुले एक वर्षभित्रै रेल मोरङ जिल्लाको कटहरीसम्म आईसक्ने बताएका छन् ।

भारतीय निर्माण कम्पनी इकर्नले लिक बिच्छ्याउने काम धमाधम गरिरहेको छ । कटहरी स्टेशननजिकको ३ किलोमिटर क्षेत्रको मुआब्जा विवाद समाधान भए अबको १ वर्षभित्र भारतको बथनहादेखि नेपालको कटहरीसम्म रेल आउनेछ ।

३ अर्ब ७३ करोड भारतीय रुपैयाँ लागत रहेको रेलमार्गको लम्बाई १८ दशमलव ६ किलोमिटर छ । जसमा नेपालतर्फ १० किलोमिटर र बाँकी भारततर्फ पर्छ ।२०१३ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी भारतीय कम्पनी इकर्नले २०११ मा निर्माणको जिम्मा लिएको थियो ।

नेपालमा जग्गाको विवाद अन्त्य भए अर्को वर्षको मार्चसम्म कटहरीमै रेल गुडेको हेर्न पाइने निर्माण कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रदीप कुमारले बताए । नेपालको सीमासम्म आगामी अक्टोबरसम्म रेल पुर्याउने गरी काम भईरहेको छ ।

‘हाम्रो काममा कुनै समस्या छैन’ उनले भने ‘नेपाल तर्फको जग्गा विवाद अन्त्य भएमा सम्पूर्ण काम अबको १ बर्षमा सकिनेछ ।’ नेपालको कटहरी स्टेशनमा सात बर्षदेखि जग्गा विवाद कायम छ ।

इकर्नका अनुसार गत मार्च अन्तिसम्म आयोजनाले २ अर्ब सय १३ करोड खर्च भइसकेको छ । बाँकी ६० करोड बराबरको काम स्टेशनको जग्गा विवादले रोकिएको छ ।

चलनचल्तीको भाउ अनुसार मुआब्जा पाउनुपर्ने भन्दै १६ जना जग्गाधनीले दिएको मुद्दा जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ । सर्वोच्चबाट फैसला आउन भने बाँकी नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =