ओलीले बिर्सिए आफ्नै कमिटीका सदस्य, को होला त स्थायी कमिटीमा नपर्ने ?

काठमाडौँ, जेठ ३ । नेकपा एमालेको स्थायी कमिटीको बैठकमा केपी शर्मा ओलीले सदस्य लिस्टमा नाम नै लेख्न बिर्सिएका छन् । नेकपा एमालेको ‘अन्तिम’ स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम लिस्ट हेर्दै एक जना सदस्य छुटेको बताएका थिए ।

ओलीको यस्तो प्रतिक्रियाले बैठकमा सबैको मनमा प्रश्न उब्जाएको बेला ओलीले भने सजिलै भनेका छन्, मैले त हाम्रो स्थायी कमिटीमा २५ जना जस्तो लागेर २५ मा सहमति गरेँ, यहाँ त २६ जना पो रहेछौं ।

ओली र प्रचण्डबीच हिजो मात्रै एकीकृत पार्टीको ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने सहमति भएको थियो । त्यसलगत्तै बसेको बैठकमा पदेन सहित २६ स्थायी कमिटी सदस्य रहेको सायद ओलीले बिर्सिए ।

यस्तो अवस्थामा सबैको मनबाट को आउट भए भन्ने जिज्ञासा निम्तिनु स्वभाविक नै हो । सम्भवतः पदेन सदस्यमध्येबाट एक बाहिरिन सक्नेछन् ।

एमाले स्थायी कमिटीमा अध्यक्ष र दुई बरिष्ठ नेतासहित १५ पदाधिकारी छन् । बरियताक्रम अनुसार अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल पदाधिकारीकै हैसियतमा छन् । त्यस्तै उपाध्यक्ष बामदेव गौतम, अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली र भीम रावल छन् ।

महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बिद्या भण्डारी राष्ट्रपति भएपछि एक उपाध्यक्ष खाली छ । महासचिव ईश्व पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल र सचिवहरु प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई स्थायी कमिटीका पदाधिकारी हुन् ।

स्थायी कमिटीका अन्य सदस्यहरुमा सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, छबिलाल विश्वकर्मा, किरण गुरुङ र सत्यनारायण मण्डल छन् । २२ जना स्थायी कमिटी सदस्य बाहेक अन्य चारजना पदेन स्थायी कमिटी सदस्य रहेका छन् ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, सल्लाहकार परिषद अध्यक्ष केशव बडाल, निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी अधिकारी र लेखा परीक्षण आयोगका अध्यक्ष डा.पुष्प कडेल स्थायी कमिटीका पदेन सदस्य हुन् । उनीहरु पनि पार्टी एकतामा स्वतः स्थायी कमिटी सदस्य बन्दैछन् तर २५ मा सिमित गरिँदा एकजना नपर्न सक्छन् ।

बैठकमा कतिपयले आँकलन हालसालै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएकाले कँडेल नै परेका छन् । यद्यपि योजना आयोगको उपाध्यक्ष पद राजनीतिक नियुक्ति भएकाले उनी पार्टीको जिम्मेवारीबाट अलग हुन नपर्ने तर्क पनि गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *