तपाईंलाई थाहा छ, मलमास के हो ? भोलीबाट मलमास, जान्नुहोस् मलमासमा के गर्न हुन्छ ? के गर्न हुँदैन ?

यस वर्ष जेठमा अधिकमास परेको छ । जेठ २ गतेबाट अधिकमास लाग्छ । अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र (१२) महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् । यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया तीस (३०) दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि तीस (३०) तिथिकै हुन्छ ।

एक चान्द्रमहिनामा तीस (३०) तिथि र शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया बाह्र (१२) चान्द्रमहिना र चौबीस पक्षहरू हुन्छन् । तर अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्रमहिनाको संख्या तेह्र (१३) र पक्षको संख्या पनि छब्बीस (२६) हुन्छन् । त्यसैले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ । यही बढी भएको महिनालाई नै अधिकमास भन्ने गरिन्छ ।

अधिकमासलाई मलमास वा पुरुषोत्तममास पनि भनिन्छ । विकारका रूपमा वा मलका रूपमा आउने भएकाले यसलाई मलमास भनिन्छ भने यस महिनाको अधिपति पुरुषोत्तम भगवान् भएकाले यसलाई पुरुषोत्तम महिना वा पुरुषोत्तममास पनि भनिन्छ ।

विशेष पूजा–आजा, यज्ञ–अनुष्ठान जस्ता धार्मिक कृत्यहरू गर्नुहुँदैन । चूडा, उपनयन (व्रतबन्ध) विवाहजस्ता संस्कारहरू गर्नुहुँदैन । त्यस्तै एकाह, सप्ताह, नवाहका रूपमा गरिने पारमार्थिक कार्यहरू पनि अधिकमासमा गर्नुहुँदैन । तर शरीर एवं चित्तशुद्धिका लागि हरेक दिन गरिने स्नान, सन्ध्योपासन, पाञ्चायन देवताको पूजा, स्वाध्याय, अतिथिसत्कारजस्ता नित्य कर्महरू, नामकरण (न्वारन), अन्नप्राशन (पास्नी) जस्ता निश्चित समयमा सम्पादन गर्नुपर्ने संस्कारहरू गर्न हुन्छ । त्यस्तै कोही व्यक्तिको मृत्यु भएमा हाम्रो आ–आफ्नो परम्पराअनुसार गर्नुपर्ने अन्त्येष्टि संस्कार अन्तर्गतका क्रियाकर्महरू गर्न हुन्छ र गर्नुपर्छ ।

पुराणवर्णित पुरुषोत्तम भगवानको पूजा–आराधना, व्रत–उपवास र अपूपदानादि कर्महरू (काँसको भाँडामा रोखेर गरिने मालपुवा दानजस्ता कर्महरू) भने अधिकमासमा कर्तव्यका रूपमा उल्लेख गरिएका छन् र त्यस्ता कर्मको महत्त्व पनि धेरै बताइएकोले गर्न हुन्छ र हामी सनातन धर्मावलम्बीहरूले गर्नुपर्छ पनि ।

सामान्यतया सौरमहिना र चान्द्रमहिना सँगसँगै हुन्छन् । दिनका हिसाबले एक चान्द्रमहिनामा लगभग साढे उनन्तीस (२९) दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ भने दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन जान्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या बाह्र (१२) भए पनि चान्द्रमासको संख्या तेह्र (१३) हुनजान्छ । त्यो बढी भएको तेह्रौं महिना नै अधिकमास हो । यसरी हरेक तीन वर्षभित्र एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ ।

महिनालाई मास पनि भनिन्छ । अधिकमास पर्दा एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औंसीसम्म) मा एउटा पनि सूर्यसङ्क्रान्ति पर्दैन । धर्मशास्त्रमा सूर्यसङ्क्रान्तिरहित महिनालाई अशुद्ध वा दोषयुक्त मानिएको हुनाले यसलाई मलमास पनि भनिएको हो । त्यस्तै कहिलेकाहीँ एउटै चान्द्रमासमा दुईवटा सूर्यसङ्क्रान्ति पनि पर्न सक्छ । त्यस्तो दुईवटा सूर्यसङ्क्रान्ति परेको मासलाई भने क्षयमास भनिन्छ । क्षयमास पर्दा अगाडि र पछाडि गरी दुईवटा अधिकमास पनि पर्दछन् ।

सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा हरेक तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई ९२० वर्ष, आठ (८) महिना, सोह्र (१६) दिन र चार (४) घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ । सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस (३०) दिनभन्दा बढी हुने सौरमासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ ।

तसर्थ प्रायः वैशाखदेखि असोजसम्ममा अधिकमास पर्दछ । तर क्षयमास परेको समयमा फागुन, चैतमा पनि अधिकमास पर्ने सम्भावना हुन्छ । त्यसैले सामान्यतया हरेक तीन वर्षभित्र फागुनदेखि असोजसम्मका मासहरूमा अधिकमास पर्दछ । जस्तो — वि.सं. २०७२ को असार महिनामा अधिकमास थियो र त्यसपछि आएर अहिले वि.सं. २०७५ को जेठ महिनामा अधिकमास परेको छ ।

अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास परेको मासका आधारमा निर्धारित हुन्छन् ।

यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट जनतालाई भय, चोरी–डकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएको पाइन्छ ।

नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *