पोल्ट्रीमा पुगेन लगानी ,वर्षको १५ अर्ब नथपिए आत्मनिर्भर बन्न नसकिने

भरतपुर, बैशाख ३० । नेपालमा पोल्ट्री क्षेत्रमा भएको लगानीको झण्डै ६० प्रतिशत हिस्सा चितवनले ओगटेको छ । पोल्ट्रीको राजधानीको रुपमा परिचित चितवनमा झण्डै ४० अर्बको लगानी छ । पोल्ट्री क्षेत्रमा देशभर ८० अर्बको हाराहारीमा लगानी भएको छ ।
नेपाल पोल्ट्री क्षेत्रमा आत्मनिर्भर छ । पोल्ट्रीको आत्मनिर्भर टिकाइ राख्न अझै लगानी पुगेको छैन । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले देशलाई पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाइराख्न यसमा लगानी थप गर्नुपर्ने बताए । उनले भने, ‘पोल्ट्रीमा वार्षिक रुपमा १५ अर्ब लगानी थप गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

अध्यक्ष विष्टका अनुसार हाल पोल्ट्रीमा वर्षको १० अर्ब लगानी थप भइरहेको छ । उनले भने, ‘वर्षको १० अर्ब लगानी थपिएर मात्र आत्मनिर्भर भइरहन गाह्रो पर्छ ।’ लगानी थप्दै जाने वातावरण सरकारले बनाउन नसकेको उनले आरोप लगाए ।
आगामी वर्ष पोल्ट्रीमा १५ अर्ब नथपिए आत्मनिर्भर बन्न नसकिने उनको भनाइ छ । ‘सरकारले पोल्ट्रीमा लगानी गर्ने पोलिसी बनाएको छैन । समृद्धि भनेर मात्र हुँदैन । कसरी समृद्धि बनाउने तरिकाको ज्ञान हुन जरुरी छ’ अध्यक्ष विष्टले भने, ‘पोल्ट्री क्षेत्र देशको आत्मनिर्भर क्षेत्र हो, यसलाई कायम राखिराख्न राज्यले उचित नीति बनाउनुपर्छ । राज्यले पोल्ट्रीमा उचित नीति बनाए स्वदेशी व्यवसायीहरु नै यसमा लगानी गर्न आतुर छन् ।’

पोल्ट्रीविज्ञ तथा उवासंघ चिवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले पोल्ट्रीमा थप लगानी आवश्यक परेको बताए । लगानी बढाउने उचित नीतिहरु सरकारले ल्याउनुपर्ने उनको भनाइ थियो ।

‘पोल्ट्रीजन्य सामग्रीहरु बाहिरबाट ल्याउनुपरेको छ । सके स्वदेशमै उत्पादन गर्नुप¥यो । सकिन्न भन्सार छुट गर्नु प¥यो’ डा भट्टराईले भने, ‘रोग लाग्नबाट कुखुरालाई बचाउन २४ घन्टा परीक्षणको लागि ल्याबको व्यवस्था गर्नु प¥यो ।’ उनले कृषिका अन्य क्षेत्रले पाउने सम्पूर्ण सेवासुविधा पोल्ट्रीले पनि पाउने व्यवस्था भए लगानी बढ्ने बताए ।

नेपाल अण्डा उत्पादन संघका अध्यक्ष त्रिलोचन कँडेलले नेपालको पोल्ट्री क्षेत्रमा वैदेशिक लगानी आवश्यक नभएको बताए । उनले भने, ‘राज्यले उचित नीति लिए स्वदेशी व्यवसायीले नै पोल्ट्री क्षेत्रमा छलाङ मार्न सक्छन् । विदेशी लगानी भित्र्याउन आवश्यक छैन । राज्यले लगानी सुरक्षितको वातावरण बनाए नेपाली व्यवसायीले नै अर्बौ लगानी गर्छन् ।’

उनले नेपाली किसानलाई दाना उत्पादनको लागि मकै, भटमास, सूर्यमुखीको खेती गर्न प्रोत्साहन गर्नुपर्ने बताए । ‘कुखुराको दानाको लागि विदेशीको भर परेका छौँ, यसको समाधान गर्न राज्य लागेमा लगानी बढ्छ’ उनले भने, ‘क्यारेन्टाइन चेकपोष्ट २४ घण्टा खुला गर्नुपर्छ । सस्तो व्याजमा पोल्ट्री क्षेत्रमा ऋण दिनुपर्छ ।’

देशभर दैनिक ३२ लाख अण्डा उत्पादन हुन्छ । हप्तामा १ लाख २५ हजार लेयर्स चल्ला उत्पादन भइरहेको छ । नेपालको पोल्ट्री क्षेत्रमा प्रत्यक्ष रुपमा डेढ लाख भन्दा बढीले रोजगार पाएका छन् ।
नेपालमा २०१७ सालबाट पोल्ट्री व्यवसायको विकास र विस्तार भएको पाइन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *