उपहार (कविता)
“
सक्छौ धनको उपहार देऊ
आफ्नोपनको उपहार देऊ
सक्दैनौ केही छैन
सुन्दर मनको उपहार देऊ
मीठो बचनको उपहार देऊ ।
सक्छौ सुनको उपहार देऊ
उत्तम गुनको उपहार देऊ
सक्दैनौ केही छैन
मनोरम जुनको उपहार देऊ
सुमधुर धुनको उपहार देऊ ।
सक्छौ हितको उपहार देऊ
सबलाई जितको उपहार देऊ
सक्दैनौ केही छैन
सङ्गीतको उपहार देऊ
अनुपम गीतको उपहार देऊ ।
सक्छौ बयलीको उपहार देऊ
न्यानो सहेलीको उपहार देऊ
सक्दैनौ केही छैन
निःशुल्क हाँसो उपहार देऊ
अनमोल नासो उपहार देऊ ।
समस्याको हल उपहार देऊ
स्वप्निल महल उपहार देऊ
सक्दैनौ केही छैन
सानै होस् कुटी उपहार देऊ
जडीबुटी उपहार देऊ ।
सक्छौ दामको उपहार देऊ
स्वस्थ मामको उपहार देऊ
सक्दैनौ केही छैन
कुशल कामको उपहार देऊ
असल नामको उपहार देऊ ।
यति राम्रो सृष्टि उपहार हो
हाम्रो दृष्टि उपहार हो
स्वच्छ पानी उपहार हो
जिन्दगानी उपहार हो ।
त्यसैले, सभ्यताको फूल उपहार देऊ
रितको मूल उपहार देऊ
सक्दैनौ केही छैन
मनसम्म पुग्ने पुल उपहार देऊ
खुसीको हूल उपहार देऊ ।”