छोरालाई कुर्नुपर्ने भएकाले खड्काकाे अन्त्येष्टिको समय लम्बियो

काठमाडौं, चैत १८ । उपचारको क्रममा केहीदिन अगाडी निधन भएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको आज अन्त्येष्टि गरिने भएको छ । अपरान्ह ४ बजेपछि पशुपति आर्यघाट उहाँको अन्त्येष्टि गर्ने कार्यतालिका बनाइएको छ । त्यसअघि विभिन्न ठाँउमा राखेर उहाँलाई अन्तिम श्रद्धान्जली दिइने भएको छ ।

शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको शव गएराती काठमाडौं ल्याएर उहाँकै निवास सानेपामा राखिएको छ । शव अन्तिम श्रद्धाञ्जलीका लागि विहान ९ बजेपछि काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राख्ने तय भएकोमा केही घण्टा पछाडी सरेको छ । उच्च शिक्षाका लागि बेलायतमा रहेका उहाँका छोरा स्वदेश फर्किन ढिला भएकाले उहाँलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राख्ने समय पनि पछाडी सरेको हो ।

पछिल्लो तालिका अनुसार दिउँसो १ बजेपछि मात्रै पार्टी कार्यालयमा उहाँको शव लैजाने तयारी भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गत ९ गते देखि बसिरहेको केन्द्रीय समितिको नियमित बैठक स्थगित भएपनि उहाँको निधनमा शोक प्रस्ताव पारित गर्न भने आज बैठक बस्ने भएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समितिको बैठकले उहाँको निधन भएकोमा शोक प्रस्ताव पारित गर्नेछ । खड्काको शव गएराती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइएको हो । काँग्रेसका प्रभावशाली नेता मानिनुहुने खड्काको नयाँदिल्लीको एपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *